काठमाडौं – सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेपछी मात्रै सदन अघि बढ्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध भइरहेको भन्दै उनले संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्रै संसद्लाई गति दिने बताए।
सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भुमिका आफूले निभाइरहेको उनले जानकारी दिए।
उनले प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरूसँग वार्ताको पहल गरी प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दलका नेताहरुलाई पनि सिधै राजीनामा माग्ने, वार्ता नै नगर्ने के कारण के हो ? भनेर प्रश्न गरेको बताए।
केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहालले लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली र कहिले नेपालकै राजनीतिक दलहरूसँग धाउनुभएको थियो भन्ने अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्नै नसक्ने बताउँदै संसद अवरोध गरिरहेका छन्।