समाजकल्याण परिषद्की उपाध्यक्ष अमेरिकी नागरिक भएको पुष्टी

74

काठमाडौं – समाजकल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारी अमेरिकी नागरिक भएको तथ्य सार्वजनिक भएको छ ।

सासू उमा रेग्मी मन्त्री हुँदा सत्ता र शक्तिको दुरुपयोग गरेर परिषद्मा नियुक्ति पाएकी भट्टराईले अमेरिकी पिआरसमेत लिएको भेटिएको हो । 

पिआर लिएकोलगायतका उजुरी मन्त्रालयदेखि अख्तियारसम्म परेपछि उपाध्यक्ष भट्टराईले पदबाटै राजीनामाको बाटो लिएकी छिन् । आफूले राजीनामा दिइसकेको भट्टराईले बताएकी छिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भने राजीनामाको मौखिक जानकारी पाए पनि औपचारिक पत्र आइनसकेको बताए । ‘स्वास्थ्य अवस्थाका कारण राजीनामा दिन लागेको विषय उहाँले मौखिक रूपमा जानकारी गराउनुभएको छ,’ मन्त्री आचार्यले भने । 

परिषद्मा नियुक्त हुँदा नै भट्टराईसँग अमेरिकी पिआर थियो । गत २५ भदौ ०७९ (१० नोभेम्बर २०२२) र ११ भदौ ०८० (२८ अक्टोबर २०२३) मा उनी अमेरिका गएको ‘ट्राभल डकुमेन्ट’मा पनि प्रस्थान उद्देश्य (पर्पोज अफ डिपार्चर) ‘पर्मानेन्ट रेसिडेन्ट’ अर्थात् स्थायी बसोवास उल्लेख छ । 

अमेरिकी पिआर बोकेर उपाध्यक्ष रहेको बिषयमा भट्टराईले भनिन् ‘मैले अमेरिकी नागरिकसँग विवाह गरेकी हुँ । अमेरिकाबाहिर ६ महिना बसेपछि स्टाटस आफैँ रद्द हुन्छ, अमेरिका आफैँले रद्द गर्ने प्रक्रियामा लान्छ ।’

पिआर लिएमा वा सोका लागि आवेदन दिएमा निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिने व्यवस्था निजामती ऐनको दफा ६१ मा छ । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू