समृद्धिका पाइला आगामी वर्षमा अझ उचाइमा पुग्नेछ : प्रधानमन्त्री

16

(काठमाडौँ) – अंग्रेजी नयाँ वर्ष सन् २०२० आजदेखि सुरु भएको छ । नयाँ वर्ष सन् २०२० को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धीको वर्षका रुपमा रहेको बताएका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । यसै वर्ष अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको उनले स्मरण गरे ।

ओलीद्वारा जारी सन्देशमा भनिएको छ, “यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंँका लागि अन्त्य गऱ्यौं । विकासका केही दूरगामी योजना यसै वर्ष थालनी गऱ्यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना सम्पन्न गऱ्यौं । चार वर्षअघिको भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नता उन्मुख छ ।”

व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान केही माथि पुगेको तथा आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको उनले बताए । प्रधानमन्त्री ओलीले निराशाहरु विनिमय गरी समय बिताउने सामाजिक प्रवृत्ति सङ्क्रमणकालीन संशयलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको सन्देशमा उल्लेख छ ।

अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौती रहेको तथा देशले त्यस्ता अवरोधलाई भोगे पनि मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तव्यतर्फ थप गतिशील बनाएको उनले बताए । प्रधानमन्त्रीले राष्ट्रिय समृद्धितर्फका पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अर्काे नयाँ वर्षको सँघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग देखिने गरी उचाइमा उठ्ने तथा जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक बिन्दुमा पुग्ने सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा भनिएको छ, ‘निर्वाचन मार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै आफूले गरेको संकल्प ‘जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सरकारको अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायको साथ रहने साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’ नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू