रासस/बेत्रावती – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ भवनको उद्घाटन गर्दै उनले विद्यालयमा सुविधा सम्पन्न नयाँ भवनको निर्माणले अब शिक्षामा गुणस्तर र दक्षजनशक्ति उत्पादनमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरे ।
उनले नेपाल जस्तो पछि परेको राष्ट्र मात्र नभइ विकसित अमेरिका र युरोपका राष्ट्रले शिक्षा नै प्रथामिकतामा राख्ने गरेका अनुभवले पनि शिक्षित जनशक्ति उत्पादन नभइ समृद्धिको सपना पूरा हुन नसक्ने बताए । “आगामी तीन वर्षमा गुणात्मक प्रगति गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराउनुपर्ने कार्यभार शिक्षाका माध्यमबाट मात्रै सकिने आशा लिएका छौ”, उनले भने ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विद्यालय, सडक, जलविद्युत्लगायतका भौतिक पूर्वाधारले मात्र समृद्धि प्राप्त नहुने भएकाले शिक्षा र सीप लगायतका मानवीय दक्षताको पूर्वाधार विकासमा आफ्ना सन्ततिलाई केन्द्रित गराउन सुझाव दिए । सांसद नारायणप्रसाद खतिवडाले शिक्षाका माध्यमबाट कृषि, पर्यटन, जलविद्युत् लगायतको सीप प्रवद्धन गर्ने सिकाइको विकास गराउन सक्नुपर्ने बताए ।