रासस/पोखरा – गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्वपूर्ण आधार तयार भएको समीक्षा गर्दै दोस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको विकासमा क्रियाशील हुन सरकारलाई आग्रह गरे ।
उपलब्ध प्राकृतिक साधनस्रोतको संरक्षणका साथै राम्रो उपयोग हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुखले जनभावनाअनुरुप सरकार बढ्न सक्दा प्राप्त हुने लोकप्रियता अन्य प्रदेशका लागि पनि नमूना हुन सक्ने धारणा राखे । नदीनाला र ताल तलैयाँलगायतका साधन स्रोतको उपयोग गर्ने वातावरण निर्माण हुनुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अवधिमा आवश्यक कानून निर्माण भई सरकार भौतिक पूर्वाधारलगायतका हरेक क्षेत्रमा अघि बढिरहेको बताए । प्रदेशको समग्र विकासलाई लक्षित गरी पञ्चवर्षीय योजना बनाइसकिएको बताउँदै उनले २५ वर्षे दीर्घकालीन योजनासमेत तयार भइसकेको जानकारी दिए । प्रदेशमा आर्थिक अनुशासन, सुशासन कायम गराउने कुरामा सरकार प्रतिवद्ध भएको बताउँदै उनले शान्ति सुरक्षाको प्रभावकारिताका लागि प्रहरी सेवालाई पनि प्रभावकारी बनाउन खोजिएको धारणा राखे ।
प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचनका क्रममा व्यक्त गरिएका घोषणापत्र अनुसार काम भयो वा भएन त्यसको समीक्षा गरेर अघि बढ्न सरकारलाई सुझाव दिए । सरकारले हाम्रा नभनी राम्रा राष्ट्रसेवकलाई प्राथमिकतामा राख्नसके त्यसले अन्य प्रदेशबाट पनि कमचारीको आकर्षण यसतर्फ बढाउन सकिनेमा उनको जोड छ ।