सम्झौतअनुसार काम गरौं, नसके बाटो सहज गरौं : ऊर्जा मन्त्री पुन

18

(काठमाडौं) – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले कार्यसम्पादन सम्झौता अनुसार काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सिंहदरवारस्थित मन्त्रालयमा आइतबार भएको ०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले आफूसँग गरिएका कार्यसम्पादन सम्झौता अनुसार काम नगरे जिम्मेवारीबाट हटाउने चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘मैले प्रधानमन्त्रीज्यूसँग कार्यसम्पादन सम्झौता गरेको छु, म त्यही अनुसार काम गर्छु, सचिवज्यूले मसँग गर्नुभएको छ । त्यस्तै सचिवज्यूसँग सहसचिव र अन्य उच्च अधिकारीले सम्झौता गर्नुभएको छ । सम्झौताअनुसारको काम भयो कि भएन अहिलेलाई त्यो नै मूल्याङकन हो । कार्यसम्पादन अनुसार काम नभएको भए आफ्नो जिम्मेवारी पनि सोचौं ।’

मन्त्री पुनले राज्य र सरकारको कार्यशैली फेरिएको भन्दै त्यही अनुसार काम गर्न पनि निर्देशन दिए । मन्त्री पुनले भने, ‘प्रधानमन्त्री, मन्त्रीले भनेको कुरा हो भन्दै गर्छन यस्तै हो चलिरहन्छ भन्ने कुराजस्तो भयो । लेखेको, नेतृत्वले भनेको र योजनामा रहेको कुरा कार्यान्वयन गर्ने हो भन्ने देखिएको छैन ।’ यसलाई गम्भीरतापूर्वक लिनुहोस ।’

मन्त्री पुनले बजेटमा एउटा उल्लेख भएको र काम गर्दा त्यसलाई बेवास्ता गर्ने कार्यशैली देखिएको भन्दै लक्ष्य भन्दा बाहिर गएर काम नगर्न समेत चेतावनी दिए । राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनामा गम्भीर भएर काम गर्न, फिल्डमै गएर आयोजनाको अवस्था बुझ्न र सहजीकरण गर्न पनि उनले निर्देशन दिए ।

अन्र्तमन्त्रालय र अरु निकायलाई दोष देखाएर आफू पन्छिने काम भइरहेको भन्दै मन्त्री पुनले नेतृत्वले समस्याको समाधान आफैले गर्नुपर्ने बताए । उनले भने, ‘तपाईहरुले राष्ट्रिय गौरव र प्राथमिकतामा परेका आयोजनाहरुको सोझै सचिव, महानिर्देशकहरुले नै निगरानी र सहजीकरण गर्नुपर्यो, आफै फिल्डमा गएर भएपनि समस्याको समाधान गर्नुपरो । अहिले पनि अरुलाई मात्र दोष दिएर उम्कने काम राम्रो होईन ।’

समीक्षा बैठकमा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वैकल्पिक उर्जा प्रबर्धन केन्द्र र जल तथा मौसम विज्ञान विभाग लगायतका सरकारी कम्पनीका प्रमुहरुले प्रस्तुतिकरण गरेका थिए ।

समाचार वर्गहरू