काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिना भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छन् ।
बुधबार मन्त्रालय अन्तर्गतका संस्कृत सम्बद्ध निकायसँगको अन्तरक्रिया कार्यक्रममा उनले मातहतका समितिलाई दुई महिना भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिंदै गुरु योजना निर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गरेका छन् । विकास समितिहरुलाई छाता ऐन बनाएर एकीकृत गर्ने योजना भएको बताउँदै महिना दिन भित्र सुझाव दिन सबैलाई आग्रह गरे ।
विकास समितिहरुले मितब्यहिता अपनाउन साथै भेटिपाती पारदर्शिता तथा ब्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न तथा बेरुजु फस्यौट गर्न तर्फ लाग्न निर्देशन दिए । धार्मिक तथा सांस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीय तहको समन्वय गरेर बढी भन्दा बढी फाईदा लिन समेत आग्रह गरेका छन् ।
मन्त्री भट्टराईले धार्मिक स्थलहरुलाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न आग्रह समेत गरेका छन् ।
कार्यक्रममा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति चितवन, पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ, बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौ, बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्वा विकास समिति ललितपुर, बृह्तर बराह क्षेत्र विकास समिति सुनसरी, मनकामना क्षेत्र विकास समिति गोरखा, हलेसी महादेवस्थान विकास समिति, खोटाङ, बृहत्तर जनकपुर क्षेत्र विकास समिति अध्यक्ष र कार्यकारी निर्देशकहरुको सहभागिता रहेको थियो ।