काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् ।
सभापति देउवाले शुक्रबार अपिल जारी गर्दै प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा रहेको कांग्रेसले शनिबार देशभरका ७५३ वटै स्थानीय तहबाट सरकारविरूद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको हो ।
‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन् ।
पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।
यसअघि कांग्रेसले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरू सँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’