काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको (दाहाल–नेपाल) समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौंको बबरमहलमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले संसद् विघटन गर्ने सरकारी निर्णयविरुद्ध मुलुकभर विरोधको कार्यक्रम गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त समूहको बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको हो ।
उक्त समिति दुई हजार पाँच सय १ सदस्यीय रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । दाहाल–नेपाल समूहले सबै केन्द्रीय कमिटी सदस्य र सांसदलाई भोलि बिहान १० बजे काठमाडौंको माइतिघर मण्डलामा भेला हुन आग्रह गरेको छ ।
सोही समूहले भोलि नै निर्वाचन आयोग पुगेर आफूहरु नेकपाको आधिकारीक समूह रहेको र सर्वोच्च अदालत पुगेर प्रतिनिधिसभा जीवित रहेको स्मरण गराउने कार्यक्रम नेकपाले तय गरेको छ ।
काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेको दाहाल–नेपाल समूहले सरकारी निर्णयविरुद्ध बन्द सम्मको कार्यक्रम ल्याउने संकेत गरेको छ । पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन गर्ने जानकारी दिंदै प्रवक्ता श्रेष्ठले बताउँदै पर्सि शनिबार सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको बताउनुभयो ।
बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी लगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।