सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेपछि रिहा भए : अध्यक्ष ओली

77

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरिएको पनि बताएका छन् ।

‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’ उनले प्रहरीको नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी, प्रशासन तथा स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको पनि उल्लेख गरेका छन् ।

‘प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु,’ उनले लेखेका छन्, ‘ मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।’ उनले आफू केहीदिन अझै अस्पतालमै रहने पनि जानकारी गराएका छन् ।

उनले थप भनेका छन्, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता(कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।’

समाचार वर्गहरू