(काठमाडौं) – सरकारले गरेको भन्सार महशुल वृद्धि प्रति नेपाल चेम्बर अफ कमर्शले आपत्ति जनाएको छ । २०७६ कार्तिक २५ मा प्रकाशित नेपाल राजपत्रको सूचना अनुसार आर्थिक ऐन २०७६ को प्रावधानमा गरिएको संशोधन प्रति नेपाल चेम्वर अफ कमर्शको ध्यानाकर्षण भएको जनाएको छ ।
आर्थिक ऐन २०७६ लागू भएको चार महिना नबित्दै भन्सार महशुल वृद्धि गर्नुले व्यवसायमा स्थिरता नहुने चेम्बरको भनाई छ । उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पश्चात एक वर्षको लागि आफ्नो व्यवसायीक योजना बनाई तदनुरुप आफ्नो व्यवसाय सञ्चालन गर्ने र सोही अनुरुप अग्रिम कारोबार गरिरहेका बेला कर वृद्धि गर्नु आपत्ति जनक भएको चेम्बरको भनाई छ ।
राजपत्र अनुसार कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक भएता पनि व्यापारिक प्रयोजनका लागि पैठारी हुने सुन तथा चाँदीमा प्रति १० ग्राममा लाग्ने महशुल दरमा वृद्धि गर्न आपत्तिजनक भएको उसको ठहर छ ।
विदेशबाट फर्केका यात्रुहरुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा भएको महशुल दरमा भएको वृद्धि तथा कपालमा प्रयोग हुने कस्मेटिक्स, फलाम वा इस्पातको सरसफाइ सम्वन्धी सामान तथा कफीमा लगाइएको अन्तशुल्क वृद्धिले अनधिकृत व्यापार वृद्धि हुने सम्भावना रहेको चेम्बरले जनाएको छ । कर वृद्धिले मालवस्तुको मूल्य वृद्धि हुन गइ उपभोक्तालाई प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने पर्न सक्ने तर्फ चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।