(चितवन) – कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् ।
चितवनमा शनिबार पत्रकारसँग कुरा गर्दै सिंहले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको बताए ।
उनले भने, ‘मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै पनि निर्णयमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजिएको छ ।’
सिंहले अख्तियार सरकारबाट प्रभावित भएर जग्गा हुनेलाई कारवाही गर्न डराएको बताए । तत्कालीन मन्त्री, प्रधानमन्त्री र जग्गाधनी पनि त्यतीकै दोषी भएकाले उनीहरुलाई पनि कारवाही हुनुपर्ने माग सिंहले बताए ।
सिंहले यसैका लागि काँग्रेसले संसद् अवरुद्ध गरेको स्पष्ट पार्दै अख्तियारले राजनैतिक आग्रहपूर्वाग्रह विना नै स्वतन्त्र रुपमा छानबिन गर्नुपर्नेमा जोड दिए । रासस