सरकारले वामदेव गौतमको नाम राष्ट्रपति कार्यालय पठायो

22

काठमाडौं – सरकारले राष्ट्रिय सभाको मनोनित कोटाबाट बन्ने सांसदका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपति समक्ष पठाएको छ ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरिएका गौतमको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार नै राष्ट्रपति कार्यालय समक्ष सिफारिस पत्र पठाएको हो ।

२०७४ मंसिरको चुनावमा बर्दिया क्षेत्र नम्बर–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बन्ने पक्का भएको छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रिय सभामा पठाएपछि मात्रै गौतमले सांसदको सपथ लिन पाउने छन् । राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार नै गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने र आजै राष्ट्रियसभा अध्यक्षबाट गौतमले शपथ ग्रहण गर्ने उच्च राजनीतिक स्रोतले जानकारी दिएको छ ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । त्यही सिटमा वामदेव गौतमलाई मनोनीत गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमको नाम पठाउन सुझाव दिएपनि प्रधानमन्त्री केपी ओलीले उनको नाम सिफारिस गरेका थिएन् । भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आफैले गौतमको नाम सिफारिस गर्ने जानकारी गराएका थिए ।

समाचार वर्गहरू