सरकार नागरिकको दु:खमा संवेदनशील नभएको प्रष्ट देखिन्छ : कोइराला

32

(काठमाडाैं) – सांसदहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकाले नीति तथा कार्यक्रम मार्फत ठोस कार्य योजना ल्याउन नसकेको बताएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको सोमबारको छलफलमा उनीहरुले महामारीसँग जुध्न सरकारले गरेको तयारी पर्याप्त नभएको बताएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना भाइरस रोकथाममा सरकार संदेशनशील नभएको प्रस्ट भएको बताए । कोरोना भाइरसको संक्रमणले पारेको र पर्न सक्ने प्रभावको आंकलन गर्दै नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने भएता पनि निबन्धनात्मक शैलीमा सरकारको चर्चा गर्दै आएको यो कार्यक्रमबाट सरकार नागरिकको दुखमा संवेशनशील नभएको प्रस्ट हुने बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भूमिको अतिक्रमणबारे नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक तर उच्चस्तरमा सार्थक र परिणाममुखी वार्ता गरेर समस्या समाधान गर्न पनि कोइरालाले सरकारसँग आग्रह गरेका छन् । कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको भएपनि त्यसका लागि ठोस कार्ययोजना भने नआएको उनले बताए ।

कोइरालाले सीमामा अलपत्र परेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन आग्रह गर्दै उहाँले कोरोना परीक्षको दायार विस्तार गर्न सरकारसँग आग्रह गरे । वैदेशिक रोजगारीबाट फर्किन बाध्य नागरिकको समस्या सम्बोधनका लागि सरकारले कुनै योजना नबनाएको बताए । यस्तो कठीन अवस्थामा समेत मुलुकको अर्थतन्त्रलाई अगाडी बढाउने विषयमा सरकारले ठोस योजना ल्याउन नसक्नुले निजी क्षेत्रलाई थप निरास बनाएको कोइरालाले बताए ।

मुलुकमा भोकमरी आउन नदिन कृषि उत्पादन बढाउनुको विकल्प नभएको भन्दै उनले कृषि उत्पादन बढाउन बीउ र मलको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरे । सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनु पर्नेमा विगतमा नतिजा दिन नसकेका र कार्यकर्ता पोस्ने योजनाका रुपमा रहेको कार्यक्रमलाई निरन्तरता दिनु दुखद भएको उनले बताए । विश्व नै अहिले भयभित अवस्थमा रहेकाले आगामी दिनहरु थप चुनौतीपूण रहेको उनले बताए ।

जनता समाजवादीका सांसद महेन्द्र राय यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कोरोना प्रभावित क्षेत्रलाई उचित सम्बोधन गर्न नसकेको बताए । कोरोनाको संक्रमण कारण विश्व नै आतंकित भएको भन्दै उनले जनतालाई यस महामारीबाट कसरी जोगाउने भन्ने कुरामा सरकार उदासिन देखिएको बताए । नागरिकको जीवन रक्षा र मुलुकको अर्थतन्त्रालाई चलायमान बनाउने विषयमा नीति तथा कार्यक्रमले सम्बोधन नगरेको उनले बताए ।

कृषि उत्पादनलाई बढाउन सहुलियत ऋण, अनुदान आवश्यक रहेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए । अर्थतन्त्रलाई बलियो बनाउने योजना सरकारसँग नभएको दुखद भएको भन्दै सांसद यादवले भविष्यमा आउने चुनौती समान गर्न ठोस योजना चाहिने बताए ।

सांसद ज्ञानेन्द्र कार्कीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कोरोना भाइरसले सिर्जना गरेको वर्तमान समस्यालाई समाधान गर्न नसक्ने बताए । बजेट ल्याउने क्रममा वर्तमान नेपालको यथार्थलाई ध्यान दिन पनि कार्कीले सुझाव दिएका छन् । बजेट मितव्ययी हुनुपर्ने उनको भनाइ छ । सरकारले ठूला परियोजना निर्माणमा ध्यान दिनुभन्दा पनि छिटो प्रतिफल दिने आयोजना सम्पन्न गर्नुपर्ने उनको सुझाव थियो ।

समाचार वर्गहरू