सरकार पक्षपाती भएको काँग्रेस नेता पौडेलको आरोप

55

रासस/चितवन – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् । आइतबार चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सबै नागरिकलाई बराबर हुन् भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गरे ।

नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेकोप्रति आपत्ति जनाए । सरकारको यस्तो प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने उनको धारणा छ । “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो,” उनले भने ।

फरक प्रसङ्गमा नेता पौडेलले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताउँदै पार्टीभित्र आफू विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको दाबी गरे । “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ,” उनले भने । राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उनले यसलाई सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको औंल्याए ।

समाचार वर्गहरू