सरकार बिचौलियाको नियन्त्रणमा छ – प्रचण्ड

35

काठमाडौं – प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र बिचौलियाको नियन्त्रणमा चलेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले सरकार बिचौलियाप्रति समर्पित रहेको बताएका हुन् ।

‘मैले यसअघि संसद्मा सरकारलाई खबरदारी गर्दै भनेको थिएँ– जनताप्रति सरकारको हदैसम्म गैरजिम्मेवारी, तर बिचौलिया र स्वार्थ समूहको खुला तरफदारीले देश आक्रोशित छ । सत्तापक्षका मान्छेलाई कानुन मिच्न होइन, कानुन नै खान दिएको देखेर देश विचलित छ,’ उनले भने, ‘उद्योगीबाट बिजुलीको अर्बौँ बक्यौता उठाउनै नखोजेको, तर भुइँमान्छेका घरको लाइन काटेको देखेर देश पनि रन्थनिएको छ । त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ । तर, मलाई चिन्ता छ, भोलि त्यो सडकमा पोखिन सक्छ । यही सत्य स्वीकार गरेर सरकार सुध्रियोस् । तर, यो १० महिनामा सरकार सुध्रिएन, सुध्रिन चाहेन । किनभने सरकार सुध्रिनका लागि गठन भएकै थिएन ।’

प्रचण्डले सरकार एउटा निश्चित वर्गको स्वार्थका लागि बनेको भन्ने अहिले पुष्टि भइसकेको उनको भनाइ छ । ‘मैले त्यति वेला यो भनिरहँदा सत्ता बहिर्गमनको छटपटी भनेरसमेत टिप्पणी गरियो । तर, अहिले त यो तपाईंहरूकै भाष्य बनिसक्यो । सरकार सञ्चालन संयन्त्रकै सदस्यहरूले नै प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच भनेर सार्वजनिक रूपमा नै भन्ने अवस्था सिर्जना भयो,’ उनले भने ।

प्रचण्डले अगाडी भने, ‘महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुईतिहाइको बेलुन त मैले फुटिसकेको देख्छु । हरेक नियुक्ति र निर्णयमा बिचौलिया हाबी छन् । १० महिना बितिसक्दा पनि लोकका अगाडि गठबन्धन बनाउन जे भनेर सातबुँदे सहमति गर्नुभएको थियो, त्यसतर्फ कहीँकतै पनि ध्यान देखिँदैन ।’

प्रचण्डले हिजो आफूले खबरदारी गरेको विषय अहिले सत्तारूढकै असन्तुष्टिको कारक बनेको उल्लेख गरे । ‘मैले भनेको थिएँ, सरकार आफ्नै कुशासनले ढल्छ भनेर । प्राविधिक रूपमा सरकार देखिए पनि नैतिक रूपमा सरकार ढलिसकेकै अवस्थामा छ,’ उनले भने, ‘तर मेरो चिन्ता हिजो पनि थियो र आज पनि म त्यही भन्छु, सरकारको कार्यशैलीले तपाईंहरू मात्रै ढल्दै हुनुहुन्न, त्यसबाट लोकतन्त्रमाथि नै प्रहार गर्ने शक्ति बढिरहेको छ । लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै कारण बढी खतरा पैदा भएको छ ।’

समाचार वर्गहरू