काठमाडौं – सहकारीमा देखिएको समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक देखिएका छन् ।
शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा दाहालले सत्तारूढ दलबीच कुराकानी भएको र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति नबनाए सदन चल्न नदिने अडान कायमै राखेपछि सरकार दबाबमा छ ।सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत जोडिएको भन्दै कांग्रेसले संसदीय समिति गठनलाई ठूलो मुद्दा बनाएको छ ।
सोही कारण बजेट अधिवेशनअघि नै यस विषयमा निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी छ ।यसअघि सत्तापक्षले संसदीय समिति आवश्यक नरहेको बताउँदै आएका छन् ।
सहकारीको विषयमा उत्पन्न समस्याको समग्र समाधानमा सरकार केन्द्रित भएको उनले बताए । कुनै मन्त्री, सांसद वा नेतालाई लक्षित गरी नभई समग्र समस्या समाधान गर्ने गरी अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।