सहरी विकास मन्त्रालयको बजेटमा एक लाख बजेटका दुई दर्जन योजना

72

काठमाडौं – संघीय सरकारको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना नराख्ने मापदण्ड रहे पनि सहरी विकास मन्त्रालयअन्तर्गत दुई दर्जन योजना एक–एक लाख रुपैयाँका राखिएको पाइएको छ ।

बजेटमा टुक्रे योजना नराख्ने भन्दै राष्ट्रिय योजना आयोगले तीन करोड रुपैयाँभन्दा बढीका आयोजनामा मात्र बजेट विनियोजन गर्ने गरी ‘राष्ट्रिय आयोजना बैंक मापदण्ड २०८१’ लागू गरेको थियो ।

उक्त मापदण्डले टुक्रे योजना संघमा नरहने र प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने तय गरेको थियो । यसलाई लत्याउँदै संघीय सरकारले यसपालिको बजेटमा सहरी विकास मन्त्रालयअन्तर्गतका १ लाखका २४ वटा योजना राखेको हो । बजेटमा दुई लाख, साढे दुई लाख, तीन लाखका योजना पनि धेरै राखिएका छन् ।

चालु वर्षमा सय हाराहारी एक लाखका योजना राखेको मन्त्रालयले आगामी आर्थिक वर्षका लागि पनि लाखका योजना राख्न छुटाएको छैन । अहिले बजेट शीर्षक खडा गर्ने र त्यसमा पछि रकमान्तर गरी बजेट बढाउनका लागि सहरी विकास मन्त्रालयले मनपरी गरेको हो ।

सहरी विकासका लागि चालु वर्षमा ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएकोमा आगामी वर्षलाई बजेट बढाएर १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ पुर्‍याइएको छ । सहरी विकासअन्तर्गत ६ हजार ७ सय ५५ कार्यक्रम तथा योजना बजेटमा समेटिएका छन् ।

१ लाखका योजना

बागती सुधार आयोजनाअन्तर्गत

  • नदी जलाधार क्षेत्रमा सिमसार निर्माण
  • पानी पुनर्भरण पोखरी निर्माण
  • नदी पुनर्जीवन कार्य
  • अव्यवस्थित बस्ती व्यवस्थापन कार्य
  • फोहर पानी प्रशोधन केन्द्र निर्माण

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत १ लाखका योजना

  • उपराष्ट्रपति कार्यालय भवन निर्माण
  • चारखाल भवन परिसरभित्र एकीकृत सरकारी कार्यालय भवन निर्माण
  • राष्ट्रपति निवास कार्यालय शीतल निवास परिसरमा गुरुयोजना बमोजिमको पहिलो चरणको निर्माण
  • त्रिभुवन विश्वविद्यालयका लागि स्पोर्टस् एकेडेमी निर्माण
  • सिंहदरबार परिसरभित्र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच जल र हरियाली समेतको बफर जोन निर्माण
  • बाडेगाउँमा रहेको कृष्णप्रसाद भट्टराई आश्रम नजिकको पहिरो संरक्षण
  • कीर्तिपुर क्रिकेट मैदान, कीर्तिपुर स्टेडिमममा ल्यान्डस्क्यापिङ गर्ने कार्य
  • कीर्तिपुर क्रिकेट मैदान, कीर्तिपुर स्टेडियममा इन्टेरिएर डिजाइन गर्ने कार्य
  • कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप पारापिट निर्माण
  • स्वीकृत गुरुयोजनाबमोजिम कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्डको स्टेडियम निर्माण
  • कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटको अपरेसन एन्ड मेन्टेनेन्स
  • कीर्तिपुर क्रिकेट मैदान किर्तिपुरमा स्टेडियम निर्माण गर्ने ईआईए बमोजिम मिटिगेसन गर्ने कार्य
  • सिंहदरबार परिसरभित्र विद्युत्, टेलिफोन, अप्टिकल फाइबर लगायतका संरचना भूमिगत गर्न युटिलिटी करिडोर निर्माण
  • सिंहदरबार परिसरको स्वीकृत गुरुयोजना कार्यान्वयनअन्तर्गत बहुतले पार्किङ निर्माण
  • ललितपुरको शंखमुलमा पूर्वकर्मचारी सेवा परिषद् नेपालको भवन मर्मत

१ लाख र ५ लाखभन्दा तलका अरू कार्यक्रम

  • सेवार खोला बसपार्कमा पूर्वाधार निर्माण घोराही, दाङ दायित्व भुक्तानी : १ लाख
  • ठूला सहरी कोरिडोरको पूर्वाधार विकास गर्न (लमही–घोराही–तुलसीपुर–इमलिया) : १ लाख
  • दैलेखको निमायलमा सामुदायिक भवन निर्माणका साथै उक्त क्षेत्रमा सहरी पूर्वाधार निर्माण : १ लाख
  • काभ्रे भ्यालीमा खानेपानी प्रणाली निर्माण, सुधार र विस्तार कार्य : १ लाख
  • सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत दार्चुलाको नौगाड गाउँपालिकाका २ सय ९ वटा स्वीकृत आवास संख्याअनुसार ०८१/८२ सम्म सम्झौता भएका लाभग्राहीका लागि भुक्तानी : १ लाख
  • कैलालीको धनगढी उपमहानगरपालिका १, २, ३ र १३ को मोहना करिडोर निर्माण दायित्व भुक्तानी : १ लाख ५० हजार
  • इलामको चुलाचुली गाउँपालिकामा कृषि संकलन केन्द्र तथा थोक कृषि बजार सम्भाव्यता अध्ययन गरी डीपीआर तयार गर्न : १ लाख ८० हजार
  • धनकुटाको छथर जोरपाटी गाउँपालिका ठोट्ने कुलो सिँचाइ आयोजना : २ लाख ७४ हजार
  • भोजपुरको ट्याम्केमैयुङ गाउँपालिकाको जौंबारी कुलो मर्मत : ३ लाख २ हजार
  • पाँचथरको फालेलुङ गाउँपालिकाको सेवाखोला बिचाकुलो सिँचाइ आयोजना : २ लाख ९६ हजार
  • इलामको माइजोगमाई गाउँपालिकाको धार्नी खोल्सा सिन्कौलीडाँडा चामुटार ओख्रे पुरानो कुलो सिँचाइ योजना : २ लाख ३१ हजार
  • पाँचथरको मिक्लाजुङ गाउँपालिकाको हासारी कुलो सिँचाइ आयोजना : २ लाख
  • पाँचथरको मिक्लाजुङ गाउँपालिकाको नोवा, थामथुम खोला दोभान, कोक्लेबुङ, घुमाउने सिँचाइ आयोजना : २ लाख ९१ हजार
  • खोटाङको खोटेहाङ गाउँपालिकास्थित रामेश्वर (चिप्लिङ खोला) मुहानसहित बलडाँडा मुहसर सिँचाइ आयोजना : २ लाख ७५ हजार
  • पाँचथरको याङवरक गाउँपालिकाको कागुने सिँचाइ आयोजना : २ लाख ५ हजार
  • ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको सेर्नेखोला मुहानगरी टारी बेँसीसम्म जाने कुलो सिँचाइ आयोजना : २ लाख ६५ हजार
  • पाल्पाको रामपुर नगरपालिका–५ बरुणेश्वर मन्दिर जाने सडक कालोपत्रको दायित्व भुक्तानी : २ लाख ४३ हजार
  • बांगे पसलदेखि उत्तर रेग्मी टोल सडक स्तरोन्नति रामपुर नगरपालिका–५ पाल्पामा दायित्व भुक्तानी : २ लाख ९३ हजार
  • खोटाङको केपिलासगढी गाउँपालिकाको ओखरबोटे सिँचाइ योजना : ३ लाख ९० हजार
  • स्थानीय हरित सहरी पूर्वाधार निर्माण निर्देशिका तयार गर्न : ४ लाख ५० हजार
  • सहरी, आवास र बस्ती क्षेत्रसँग सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधिलाई तालिम/अभिमुखीकरण आवश्यकता विश्लेषणसहित पाठ्यक्रम तयार गर्न : ४ लाख ५० हजार –कान्तिपुर

समाचार वर्गहरू