(काठमाडौं) – जंगी अड्डाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ । जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो । जंगी अड्डाले आर्थिक अनियमिततामा संलग्न भएको अभियोगमा सहायक रथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
हिरासतमा रहेका सहायक रथी राणा निरीक्षणाधिकृत महानिर्देशनालयमा कार्यरत छन् भने महासेनानी सिलवाल हाल १४ नम्बर बाहिनीका सहायक बाहिनीपति हुन् । सैनिक प्रहरीले राणा र सिलवाल दुवैलाई गत साता पक्राउ गरेको सैनिक स्रोतले पुष्टि गरेको छ । उनिहरुले कुन शीर्षकका कति रकम अनियमितता गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको सैनिक स्रोतले बताएको छ ।
पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदानै सहायक रथी सैनिक अनुशासन उल्लंघन गरी आर्थिक अनियमिततामा संलग्न भएको स्रोतले जनाएको छ । महासेनानी सिलवालसमेत सोही प्रकरणमा आर्थिक अनियमिततामा मुछिएका हुन् ।
गत कार्तिकमा प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा विभिन्न सैनिक अड्डाभित्र भएका भ्रष्टाचार छानबिन गर्न निगरानी संयन्त्र गठन भएको थियो । उपरथीको नेतृत्वमा गठन भएको उक्त संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापति थापालाई दिएको थियो । संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डामाथि छानबिन गरेको थियो ।
प्रधानसेनापति कमान्ड मार्ग निर्देशन–२०७५ अनुसार आकस्मिक रूपमा छानबिन गर्न ओभरसाइट सेल गठन भएको थियो । सोही सेलको सिफारिसमा समरी जनरल सैनिक अदालतले महासेनानी भुपालमान अधिकारीलाई भ्रष्टाचारमा संलग्न भएको पुष्टि भएपछि दुई महिना कैद सजाय सुनाएको थियो । जंगी अड्डाले सैनिक अदालतको फैसला शुक्रबार सार्वजनिक गरेको थियो । महासेनानी अधिकारीले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा कार्यरत रहँदा चरम आर्थिक अनियमितता गरेको पुष्टि भएको छ ।
ओभरसाइट सेलको प्रतिवेदनले महासेनानी अधिकारीले गैरकानुनी रूपमा आर्जन गरेको १ करोड ८५ लाख ४० हजार एक सय आठ रुपयाँ ११ पैसा रकम असुलउपर गर्न भनेको छ । जंगी अड्डाले कोर्ट अफ इनक्वाइरी गठन गरी सहायक रथी राणा र महासेनानी सिलवालको बयान लिइरहेको छ । राणासँगै आर्थिक अनियमिततामा संलग्न अन्य सैनिक अधिकारीहरूसँग सोधपुछ गरेको छ । प्रमुख सेनानी देवबहादुर क्षेत्रीसमेत आर्थिक अनियमिततामा संलग्न भएपछि सैनिक अदालतले शुक्रबार उनको दुई वर्ष बढुवा रोेक्न र ४ लाख ४० हजार असुलउपर गर्न भनेको छ ।