सांसद र कर्मचारी सहित ४३१ को थ्रोट स्वाब संकलन

29

(काठमाडौं) – प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरु सहित कुल ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । सांसदहरुमा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गर्न थ्रोट स्वाब संकलन गरिएको हो ।

संसदको वर्षे अधिवेशन अगाडि सबै सांसदको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको हो । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गर्न आज थ्रोट स्वाब संकलन गरिएको हो ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७९ जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।

यस्तै, संसदका कर्मचारी र मर्यादापालक २ सय २९ जना गरी कुल ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो । बिहीबार स्वाब संकलनमा छुटेका सांसद तथा कर्मचारीको परीक्षण भोलि बिहान ८ बजेदेखि १० बजेसम्म संसद भवन परिसरमा नै हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा २७५ जना छन् ।

राष्ट्रिय सभामा हाल ५८ जना छन् । संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ ।

रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउने छन् । भोलिबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । दिउँसो ४ बजेलाई बैठक बोलाइएको छ ।

समाचार वर्गहरू