रामपुर – सांसद् विकास कोषबाट विनियोजित रकमबाट पाल्पामा विभिन्न विकास निर्माणका काम भइरहेका छन् । सांसद दलबहादुर रानाले विनियोजन भएको रकम मध्ये ठूला योजनामा रु ५० लाख बराबर र साना योजनामा रु १० लाख बराबरका योजना रहेको जानकारी दिए । सरकारले एक निर्वाचन क्षेत्रमा रु ६ करोड विनियोजन गरेको छ ।
तिनाउ–चर्चरे–मराम मोटरबाटो स्तरोन्नति, तानसेन–गुन्द्रीखोल्सा सामुदायिक रेडियो, मदनपोखरासम्म मोटरबाटो, माथगढी–५ गढवासा मनसेवा कुम्भी मोटरबाटो, माथागढी सराई सिरकारकोट हर्नेटार सडक ट्रयाक खोल्ने, रम्भा–२ बेलौजी सेजु खोलाखेत पन्टार मोटरबाटो निर्माण, घ्याङ्सी–पोखराधाम आर्गीडाँडा व्याधि सडक, रम्भा गाउँपालिका–५ सतीढुंगा लिफ्टिङ खानेपानी योजना कार्यान्वयनमा रहेका छन् ।
रानाका अनुसार पूर्वखोला–देवीनगर वडा भवन निर्माण, पूर्वखोला–रिङ्नेरह–ढाक्रेवास सडक, उदबुद्ध कलेज भवन निर्माण, निस्दी–५ ढुंगानाबेँसी बजार कालोपत्र, निस्दी–अर्चलेमा लेकडाँडा पर्यटकीय गोलघर निर्माण, निस्दी–लाबेदमार जलुके सडक स्तरोन्नतिलगायतका विभिन्न विकास निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
रामपुर बर्दाकोटमा पाहुनाघर निर्माण, रामपुर–१ पन्थे बर्दाकोट मोटरबाटो स्तरोन्नति, रामपुर–१ साखर्दी सामुदायिक भवन निर्माण लगायतका विभिन्न विकास निर्माणका काम केन्द्र सरकारको सहयोगमा भइरहेको जनाइएको छ ।
रासस