काठमाडौं – नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनी पक्राउ परेका हुन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले बिहीबार पक्राउ गरेको हो। शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंकमा व्युरोको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका प्रवक्ता कुवेर कडायतले शैक्षिक प्रमाण पत्रमा गडबडी भएको बताए। ‘शैक्षिक प्रमाणपत्रमा गडबडी देखिएपछि प्रहरीले पक्राउ गरेको हो। अब अनुसन्धान प्रक्रिया अघि बढ्छ,’ उनले भने।
मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद उनी पक्राउ परेका विषयमा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका छन् ।
‘केही दिनदेखी सुन तस्करीको बिषयमा बोल्दै आएका सांसद सुनील शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन् ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै एकजुट भएका हुन् ?,’ सिवाकोटीले प्रश्न गरेका छन् ।