काठमाडौं – संघीय सांसद एवम् पूर्व सिँचाइ मन्त्री संजयकुमार गौतमले अनसन तोडेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनसनमा उठाइएका १५ बुँदे मागहरू सरकारले पूरा गर्ने लिखित सहमती गर्दै जुस पिलाएपछि गौतमले आठौं दिनमा अनसन तोडेका हुन्।
सम्झौताअघि दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता गरिएको थियो। वार्तापछि मन्त्री सहितको टोली अनसनस्थल पुगेर सम्झौता आदानप्रदान गरेका हुन्।
गौतमले उठाएका सबै माग बर्दियाली जनताको पक्षमा रहेकाले प्रधानमन्त्रीदेखि राज्यका सबै नेतृत्वमा रहेका नेताहरूको मन्जुरीमा सरकार माग पूरा गर्न प्रतिबद्ध भएको मन्त्री ज्वालाले बताए ।
गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीस्थित जब्दिघाटको पुल बनाउनुपर्ने, भुरीगाउँ-तेलपानी सडक सञ्जाल निर्माण सुरु हनुपर्ने, मध्यवर्ती क्षेत्रका जनता जंगली जनावरबाट जनता आतंकित भएकाले जीवन बीमा गर्नुपर्ने, गुलरिया मूर्तिहा नाका तुरुन्त सुचारु गर्नुपर्नेलगायतका मागहरू राखेर माननिय गौतम विगत आठदिनदेखी अनसन बसेका थिए ।