साइप्रस – साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । धादिङ घर भएकी २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको दुर्घटनामा मृत्यु भएको हो ।
अध्ययनको सिलसिलामा गत जनवरीमा इन्टेकमा विद्यार्थी भिसाबाट साईप्रस आएकी छात्रा रेणुका २६ जुलाईको करिव २ बजे राति काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनलाई निकोसीया अस्पताल पुऱ्याउँदा डाक्टरले तत्कालै मृत घोषणा गरेका थिए ।
स्रोतका अनुसार स्थानीय प्रहरीले छात्रा रेणुकाको मृत्युबारे पुष्टि गरिसकेको छ । राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटर साइकल हाल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट परिचयपत्र, मोबाइल फोन सेट, निलो रंगको झोला, र झोला भित्र केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ ।