साउदीबाट फर्किएका एक जनामा ‘मङ्कीपक्स’

56

काठमाडौं – नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो ।

साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि भएको जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले मङ्कीपक्स पुष्टि गर्दै सरकारले त्यसलाई नियन्त्रणको प्रयास गरिरहेको बताए । उनले हालै साउदी अरबबाट फर्किएका करिब ३६ वर्षीय युवामा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताए । यसअघि २०८० असारमा विदेशबाट आएकी एक जना ६० वर्षीय विदेशी महिलामा मङ्कीपक्सको सङ्क्रमण देखिएको थियो ।

कस्तो हुन्छ लक्षण ?

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले मङ्कीपक्स ‘भाइरल जुनोसिस’ रोग भएको जानकारी दिए । उनले मङ्कीपक्स जनावरबाट मानिसमा सरेको भाइरस भएको जानकारी दिँदै ज्वरो आउनु, हातखु्ट्टा, मुखमा बिमिरा देखिनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने बताए। उनका अनुसार डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु मङ्कीपक्सका लक्षण हुन् ।

डा. पुनका अनुसार मङ्कीपक्स सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावरबाट सर्ने जानकारी दिए । मङ्कीपक्सका कारण आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्ने उनको भनाइ थियो ।

समाचार वर्गहरू