काठमाडौं – नेपालमा रोजगारी नपाएर बिदेसिने युवाहरु विभिन्न मुलुकका जेलमा रहेका छन्। यसै क्रममा अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासले जनाएको छ ।
राजदुतावासको तथ्याङ्क अनुसार जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका छन्। बाँकी भने, साउदीको नियमविपरीत काम गरेर जेल परेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार विभिन्न सेवा सुविधा र तलबको लोभमा परी हालसम्म कम्पनी छोडेर भाग्ने नेपालीको संख्या १२ हजारभन्दा बढी छ।
साउदीमा रक्सी ओसारपसारमा कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनःसाउदी अरेबिया फर्कन नसक्ने गरी बन्देजसमेत गरिन्छ भने लागुऔषधमा पनि साउदीमा कडा नियम रहेको छ।
घटनाको अवस्था हेरेर मात्राअनुसार मृत्युदण्ड सजायसमेत रहेको छ। गएको वर्ष मात्रै साउदीले लागुऔषधसम्बन्धी अपराधमा ३० जनालाई मृत्युदण्डको सजाय दिएको थियो साथै रक्सीको केसमा पनि ६ महिनादेखि पाँच वर्षसम्मको सजाय हुने र जरिवानासमेत तिर्नुपर्ने नियम रहेको छ।
जुलाई महिनाभित्रमा नेपाली दूतावासको सहयोगमा साउदी अरेबियामा अवैध रूपमा कार्यरत अकामी नवीकरण नगरेका १ सय ३८ जना नेपालीका लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ। साउदीमा रोकिएका उनीहरू अब स्वदेश फिर्ता हुने भएका छन्।