(काठमाडौं) – दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १४ औं संस्करण पाकिस्तानमा हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।
आगामी ६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरी १४ औं दक्षिण एसियाली खेलकुदको मिति तय गरिने नेपाल ओलम्पिक कमिटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘आगामी १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको छ र ६ महिनाभित्रमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरी १४ औं दक्षिण एसियाली खेलकुदको मिति तय गरिनेछ ।’
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।