सागमा नेपाललाई २९ स्वर्ण सहित ६२ पदक

15

(काठमाडाैं) –  दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करण अन्तर्गत चौंथो दिन नेपालले आज थप ६ स्वर्ण पदक जितेको छ ।

नेपाली खेलाडीले आज तेक्वान्दो, उसु, कराते, र साइकिलिङमा स्वर्ण पदक दिलाएका हुन् । योसँगै जारी सागमा नेपालको २९ वटा स्वर्ण भएको छ । १४ रजत र १९ कास्य सहित नेपालको पदक संख्या ६२ पुगेको छ ।

तेक्वान्दोमा पुरुष ८७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन् । उनले फाइनलमा पाकिस्तानका वाकर अलिलाई २७–९ स्कोरले पराजित गर्दै स्वर्ण जिते ।

आज ६ वटा पदकका लागि भएको खेलमा नेपालले २ स्वर्ण जित्यो भने भारतले ४ स्वर्ण जित्यो । नेपालले १ रजत र ३ कास्य जित्यो ।

तेक्वान्दोमा महिला ६२ केजी तौल समूहमा नेपालकी संगीता बस्याल स्वर्ण जितेकी छिन् । उनले फाइनलमा भारतकी गगनजोत जिललाई १९–८ ले हराउँदै स्वर्ण जितेकी हुन् ।

करातेको कुमुते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । उनले एसियन गेम्सको कास्यपद विजेता पाकिस्तानकी खेलाडी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण जितेकी हुन् ।

साइकिलिङ डाउनहिल स्पर्धामा पुरुषतर्फ नेपालका राजेश मगरले स्वर्ण पदक जितेका छन् । सोही इभेन्टको महिलातर्फ पनि नेपालकी निष्मा श्रेष्ठले स्वर्ण जितेकी छन् । काठमाडौंको गोकर्णमा भएको खेलमा पुरुषतर्फ मगरले १ मिनेट ४९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै, निरव श्रेष्ठले १ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका छन् । यस्तै, महिलातर्फ श्रेष्ठले स्वर्ण र जमुना थापाले रजत पदक जितेकी छन् ।

उसुको नानछ्वान अलराउन्डमा दीपक हमालले स्वर्ण पदक जितेका छन् । उनले कुल १९ दशमलव ३२ अंक प्राप्त गर्दै स्वर्ण जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी भारतका साजन लामाले १९ दशमलव १२ अंक प्राप्त गरी रजत पदकमा चित्त बुझाए ।

दशरथ रंगशालामा भएको एथलेटिक्स १० हजार मिटर पुरुष दौडमा नेपालका दिपक अधिकारीले कास्य पदक हात पारे । सो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत पदक प्राप्त गर्यो ।

यसैबीच, हाल सम्म नेपाल २९ स्वर्ण, १४ रजत र १९ कास्य सहित ६२ वटा पदक सहित शीर्ष स्थानमा कायम छ । भारतले २३ स्वर्ण, १९ रजत र १२ कास्य सहित ५४ पदक जितेको छ । श्रीलंकाले ७ स्वर्ण सहित ५७ पदक, पाकिस्तानले ८ स्वर्ण सहित ३६ पदक, बंगदलादेशले ४ स्वर्ण सहित ३५ र माल्दिभ्सले एक स्वर्ण सहित ३ पदक जितेको छ । चौंथो दिनसम्म स्वर्ण पदक हात पार्न नसकेको भुटानले ३ कास्य पदक मात्र जित्न सकेको छ ।

समाचार वर्गहरू