साग खेलकुदमा एकै दिन नेपाललाई २४ स्वर्ण

15

(काठमाडाैं) –  दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करणमा नेपालले एकै दिन १५ वटा स्वर्ण जितेको छ । कराते, तेक्वान्दो र ट्रायथलनमा गरी नेपालले १५ वटा स्वर्ण पदक जितेको हो । नेपालले एकै दिन १५ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल २२ पदक जितेको छ । कराते तर्फ ७, तेक्वान्दो तर्फ ७ र एउटा ट्रायथलनमा गरी कुल १५ वटा स्वर्ण जितेको छ ।

करातेको पुरुष कातामा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएका हुन् । ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा पाकिस्तानका खेलाडीलाई पराजित गर्दै श्रेष्ठले स्वर्ण हात पारेका हुन् । उनी एकै संस्करणमा २ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएका छन् । उनले व्यक्तिगत काता र टीम कातामा गरी नेपाललाई २ स्वर्ण दिलाएका हुन् ।

करातेमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छिन् । कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा कुसुमले बंगलादेशका खेलाडीलाई ३–२ अंकले पराजित गरिन् । करातेमा अनु अधिकारीले स्वर्ण जितिन् । पुरुष कुमुतेमा लक्षण तामाङले स्वर्ण जितेका छन् ।

करातेको ८४ केजी प्लस कुमुतेमा नेपालका लागि विप्लवलाल श्रेष्ठले स्वर्ण जितेका छन् । तेक्वान्दोको पुम्सेतर्फ महिला एकलको १७–२३ वर्ष उमेर समुहमा नेपालकी सीना मादेन लिम्बुले स्वर्ण जितेकी छिन् ।

पुम्सेतर्फ महिला एकलको २९ वर्षमाथि उमेर समूहमा नेपालकी आयशा शाक्यले स्वर्ण जितेकी छिन् । भारतले रजत र श्रीलंकाले कास्यमा चित्त बुझाएका छन् । करातेका मण्डेकाजी श्रेष्ठसँगै जारी सागमा दुई वटा स्वर्ण पदक जित्ने आयशा दोस्रो खेलाडी भएकी छिन् ।

तेक्वान्दोको पुम्सेतर्फ २९ वर्ष माथिको उमेर समूहमा नेपालकी आयशा शाक्य र सन्जिवकुमार ओझाको जोडीले स्वर्ण जितेका छन् । तेक्वान्दोको पुम्से स्पर्धामा नेपालका कमल श्रेष्ठले स्वर्ण जिते । उनले भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन् । १७ देखि २३ वर्षको उमेर समूहमा कृष्ण बहादुर तामाङले रजत जिते ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा नेपालकी पार्वती गुरुङले स्वर्ण जितेकी छिन् । यसमा श्रीलंकाले रजत जितेको छ । त्यसअघि महिला कातामा चञ्चला दनुवारले नेपालका लागि पहिलो पदक भित्राएकी थिइन् ।

फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएपछि चञ्चलाले रजत जितिन् । काताको टीम इभेन्टमा नेपाली महिला टोलीले स्वर्ण जितेको छ । निर्मला तामाङ, संगीता मगर र सरु कार्कीको टोलीले स्वर्ण जितेको हो ।

पोखरामा भएको ट्रायथलनको एलिट स्प्रीन्टमा सोनी गुरुङले स्वर्ण जितेकी छन् । पुरुषतर्फ नेपालका बसन्त थारुले कास्य जिते ।

पहिलो दिन भारतले ३ स्वर्णसहित १४ पदक र श्रीलंकाले पनि ३ स्वर्णसहित १९ पदक जितेको छ । स्वर्णको छिनोफानो भएको पहिलो दिन पाकिस्तानले २ र बंगलादेशले एक स्वर्ण हात पार्दा भुटानले एक कांस्य जितेको छ । माल्दिभ्स भने आजसम्म पदक बिहीन छ ।

 

समाचार वर्गहरू