(काठमाडौं) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
समूह ‘बी’ मा माल्दिभ्स र पाकिस्तानबीच हुने पर्ने महिलाकै अर्को लिगमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाक ओभर पाएको छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले रेफ्री संयोजक गौतम लासिवालाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गर्नु भएको थियो । सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल मंसिर ११ गतेदेखि नै सुरु भएको हो ।