(काठमाडौं) – १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको छ ।
पहिलो खेलमा बुधबार बंगलादेश विरुद्ध एकतर्फी खेल पस्किएको नेपाल भारतसँगको आजको खेलमा भने पारजित हुन पुग्यो । काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा पहिलो सेटमा उत्कृष्ट प्रर्दशन गरेको नेपालले बाँकी दुवै सेट भारतलाई सुम्पिएको थियो ।
पहिलो सेट २६–२४ ले गुमाएको नेपालले दोस्रो २५–१२ र तेस्रो २५–१६ ले हारेको थियो । आजको खेल पछि नेपाल र भारतको समान ३–३ अक भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सोही खेलले सेमिफाइलन पुग्ने दुवै दोलीको टुंगो लाग्नेछ । अर्को समूहबाट माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
यसैबीच, भारत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमै बंगलादेशमाथि ३–० को सहज जित निकाल्दै भारतले सेमिफाइनलमा स्थान बनाएको हो । समूह ए मा भारतको तीन अंक छ भने नेपाललाई ३–२ को सेटमा पराजित गरेको बंगलादेशको २ र नेपालको एक अंक छ । भारतले बंगलादेशलाई २५–१८ २५–१४ र २५–१५ ले पराजित गर्यो ।
यस्तै, समूह बी अन्तर्गतकोको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाकिस्तानले पनि विजयी सुरुवात गरेको छ । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पाकिस्तानले दोस्रो २५–२३ र र तेस्रो २५–१५ ले जितेको थियो ।