सापकोटाविरुद्धको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

22

मध्यबिन्दु/काठमाडौं – प्रतिनिधिसभाको सभामुख चयन भएका अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लले हेर्ने भएकी छिन् । आइतबार न्यायाधीश हरि फुयालको इजलास तोकिएकोमा उनले हेर्न नमिलेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार न्यायाधीश मल्लको एकल इजलासमा मुद्दाको पेशी तोकेका हुन् ।

सर्वाेच्चको न्यायाधीश हुनुअघि नै फुयालले कानून व्यवसायीको हैसियतले बहस गरेका कारण उनले सो मुद्दा हेर्न नमिलेको हो ।
सापकोटालाई सभामुख नबनाउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

माओवादी युद्धको समयमा वि.सं २०६२ वैशाख १६ गते सापकोटाको नेतृत्वमा काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको अपहरण पछि हत्या भएको आरोपमा सापकोटाविरुद्ध रिट दायर गरिएको हो ।

आइतबार सभामुखमा निर्विरोध चयन भएका सापकोटाले आज सोमबार सभामुखको शपथ लिँदै छन् ।

समाचार वर्गहरू