सुशीला शर्मा – भित्ताहरु खाली भन्दा पनि केही न केही रङ्गिन चित्र या सजावट झुण्ड्याउनु राम्रै देखिन्छन् । ती फोटा हुन या प्राकृतिक दृष्य । मान्छेको मनहरुभित्र नदेखिने भित्तामा भन्दा पनि बाहिर देखिने भित्तामा मनहरु पढ्न अर्को दोश्रो मान्छेलाई सजिलो होस भनेर यी सञ्जालको अवधारणामा थियो होला कि थिएन होला भन्ने प्रश्न उठ्छ मनमा । अनि दुःखको बेलामा साथै खुसी र हर्षको बेलामा अभिव्यक्तिको माध्यम बनेको छ यो सञ्जाल । म पनि बढी नै यसको प्रयोग गरिराखेको हुन्छु । खुसी लाग्छ कि नेपाल भन्ने भूगोलका थुप्रै व्यक्तित्वहरुलाई “साथी” बनाईदिएको छ । कतिपय त एकदमै परिचित जस्तै भईसकेका छन् भलै नजिकबाट उनीहरुलाई देखेको भेटेको छैन् । उस्तै उस्तै मन मिल्नेहरु, उस्तै उस्तै विचार मिल्नेहरु अनि आनिबानी मिल्नेहरु एउटै घेरामा रहिरहेको झैं लाग्छ ।
यहाँ खुसी मात्र बाँडिइएका छैनन् , समय,प्रकृति,वातावरण,विधि व्यवस्था,परिस्थितिले जे जे ल्याउँछ त्यसैमा आफ्ना मन बाँढ्ने, साट्ने, भिन्न बिचार राख्ने, तर्क राख्ने, मन्तव्य राख्ने र व्यवस्थामा भएका कुरीति, बेथिती, भ्रष्टाचार आदिको जरो किलो उखेल्न आजकल यिनै सञ्जालले पनि धेरै महत्वपूर्ण भूमिका खेलेको छ । जसलाई शारीरिक श्रमको काम गर्नुपरेको छैन या कुनै काम नभई बेकाम बसिरहेको छ, उसले आफू र आफ्नो अवधारणा पोख्ने माध्यम यही सञ्जाललाई नै बनाएको छ । विद्धान बुद्धिजीविदेखि लिएर हामी जस्ता आम सर्वसाधारणका मत पोखिएका छन् । यो कोभिड महामारीको कहरमा भेटेर नहुने गफहरु, छलफलहरु पढाईहरु सबै यिनै सञ्जालका बिभिन्न माध्यमबाट भईरहेका छन् ।
म निरन्तर आफ्ना मनका भावनाहरु सञ्जालमा पोखिरहेको हुन्छु । अनि कहिलेकाँही झसङ्ग पनि हुन्छु । मैले खुसी मनाईरहँदा परिवारमा बसेर सुख दुःख बाँडिरहँदा पीडामा भएका, परिवारदेखि तिरस्कृत भएर छुट्टै जीवनयापन गरिरहेका एकल महिलाहरु, जेष्ठ नागरिकहरु,प्रियजन गुमाएकाहरु दीर्घरोगहरुले थला परेका, सामाजिक विभेद र अन्यायमा परेकाहरुलाई घोचपेच या चिढाउने काम त भईरहेको छैन ? अनि फेरि सोच्दछु, ती सबै पात्रहरु सधैंका लागि एकल ,दुखी,निरिह,एक्लो होईनन,उनीहरु नि खुसी हुनुपर्छ, अगाडि बढ्नुपर्छ, हाँस्नुपर्छ,पढ्नुपर्छ,लेख्नुपर्छ, औषधी उपचार गर्नुपर्छ,बेलामा खानुपर्छ, मनको कुरा नजिकका प्रीयजनलाई भन्नुपर्छ अनि कर्म गर्दै अगाडि बढ्नुपर्छ । जिन्दगीको रीत नै यस्तै हो ।
यी सञ्जालमा जताततै खुसियाली मात्र छरिएका छैनन् । यहाँ वादविवादहरु,विमतीहरु अनि आक्षेपहरु पनि छर्लङ्गै देखिएका छन् । घटनाहरु अरु बेलामा भन्दा पनि यस कोरोना कहरमा झन उग्र भएर आएका छन, ती घटनालाई समाचार बनाउने होडवाजी र त्यसको प्रतिउत्तरहरु पनि हेर्न लायक नै हुने गरेका छन् । एउटा हालसालैको उदाहरण लिउ । कोरोनाको महामारी छ । स्वास्थ्यकर्मीहरु आफ्नो ज्यान जोखिममा राखेर विरामीको रेखदेख गरिरहेका छन् । थुप्रै स्वास्थ्यकर्मीहरु आफैं कोरोना संक्रमित भएर आईसोलेसनमा बसेका छन् । अनि एक जत्था स्थानीय समुदाय चाँहि स्वास्थ्यकर्मीको घर घेर्न,नारावाजी गर्न पुग्छन् । मान्छेहरु यति सम्म आतंकित भएका हुन कि अबुझ भएका हुन् । खाली आफ्नो ज्यान खतरामा छ भन्ने भान पर्ने रहेछ । यही विषयलाई सञ्जालमा निकै गालिगलौज गरियो । थुप्रैले स्वास्थ्यकर्मीको पक्षमा आ आफ्ना पोस्टहरु बनाएर हौसला दिने जस्तो पोष्टको लहर नै चल्यो । स्वास्थ्यकर्मी पक्षधरबाट पनि उनीहरुलाई प्रतिउत्तर स्वरुप अब हामी भएठाउँ उपचार गर्न नआउ, भेटेरीनरी जाउँ जस्ता भनाईहरु पनि छयापछयाप्ती आए । लाग्छ एक जत्था अबुुझको छ अनि यो बेलैले यस्तो बनाएको हो कि के हो ती अबुझको जत्थालाई फेरि बुझ्नेहरुले बुझाउने भन्दा पनि बाझेर बसिरहेको जस्तो लाग्छ । यही सामाजिक सञ्जाल हेर्दै गर्दा ईन्टरनेट सर्च गर्दै थिए डेभिड रब्सनको एक लेख पढें जसमा महामारी,आपतकालहरुमा मानिसहरुको मनोभावनबारे लेखिएको थियो ।
उनले लेखेका छन कि कोरोना भाईरसको डरले हाम्रो मनोविज्ञान परिवर्तन हुँदैछ । हाम्रा व्यवहारहरु नसोचेको तरिकाले परिवर्तन भईरहेछ । सबैजसो पत्रपत्रिका, रेडियो, टेलिभिजन कोरोनाकै समाचारले भरिएको छ जसको परिणामस्वरुप एन्जाईटीले तत्काल हाम्रो मानसिक स्वास्थ्यमा पनि प्रभाव पारिरहेको छ । रोगको खतराको निरन्तर सोचाईले हाम्र्रो मनोविज्ञानमा भित्री प्रभाव पर्न सक्छ । यिनै मनोबैज्ञानिक असरको कारण मानिसहरु अझ वढी रुढिवादी हुने, अनौठा व्यवहारहरु गर्ने गर्छन् । दिनहूँ रोगका कुराहरु मात्र आईरहँदा हाम्रा राजनैतिक सम्बन्धहरु पनि विचलित हुन सक्छन् । जेनोफोविया र जातिय, भेदभाव,उग्र राष्ट्रवाद जस्ता चिन्तनहरु हावी हुन सक्ने भन्ने वैज्ञानिक भविष्यवाणीको अनुसन्धान सही भएमा यसले धेरै गहिरो र सामाजिक परिवर्तन प्रतिविम्वित गर्न सक्छन् ।
रब्सनले व्यवहारात्मक प्रतिरक्षा प्रणालीको पनि कुरा गरेका छन् । उनी लेख्छन— रोगहरुप्रतिको मानव मनोविज्ञान बुझ्नको लागि प्राग ऐतिहासिक सन्दर्भमा बुझ्नु आवश्यक हुन्छ । आधुनिक औषधीको जन्म हुनुअघि संक्रामक रोग मानिसहरु बाँच्नको लागि सबभन्दा ठूलो खतरा थियो । प्रतिरक्षा प्रणाली नै केही रुपमा बाँच्ने संयन्त्र हुनेगथ्र्यो तर पनि प्रतिरक्षा प्रणालीले काम गर्दा गर्दै पनि मानिसहरु बिरामी अवस्थामै भएकोले त्यतिबेला हाम्रा पुर्खाहरुले शिकार गर्न, संग्रह गर्न, बालबच्चा हेर्न असमर्थ हुने गर्दथे । त्यसैले विरामी हुनु भनेको शारीरिक रुपमा महंगो पनि छ । जस्तोल कि शरीरमा तापक्रम बढेमा या ज्वरो आएमा सबभन्दा पहिले शरीरमा प्रभावकारी रुपले प्रतिरक्षा प्रणालीले रेस्पोन्स गर्नुपर्ने हुन्छ जसले शरीरको १३प्रतिशत शक्ति सञ्चय गर्दछ । त्यतिवेला शरीरमा खानाको कमी भएमा बिरामी शरीरलाई अझ बोझ हुन जान्छ । रब्सनले अनुसन्धाता मार्क स्यालरको हवाला दिदै लेखेका छन कि मानवहरु सामाजिक प्राणी हुन र ठूलो समूहमा बस्छन् । मानिसका व्यवहारात्मक प्रतिरक्षा प्रणाली अन्य मानिसहरुसंगको अन्तरक्रियाले पनि संक्रमण कम गर्न मद्धत गर्दछ ।
मैले यहाँ यो सन्दर्भ उल्लेख गर्नुको कारण भनेको हामी कोभिड महामारीको कारणले गर्दा दुखी छौं, हाम्रा व्यवसायहरु धरासायी भएका छन, आर्थिक रुपले टाट पल्टिएका छौं, कतिपयले आफन्त गुमाईसके, कतिपय संक्रमित भएर क्वारेन्टाईन र आईसोलेसन, अस्पतालमा उपचाररत छन् । नयाँ नयाँ नकारात्मक लाग्ने घटनाहरु , आश्चर्य लाग्ने समाचारहरुले हाम्रा सामाजिक सञ्जालहरु भरिएका छन् । र हामी तिनै नकारात्मक समाचारहरुमा बढी रुमल्लिईरहेका छौं । हामीले यो बुझ्नु जरुरी भईसकेको छ कि नकारात्मक कुराहरुलाई हामीले नजरअन्दाज गर्नैपर्ने छ । भएका सकारात्मक कुरा जस्तो कि कोरोना कहरले अभाव र गरिवीले थलिएका मजदूर र गरीव वर्गको लागि भनेर फुड वैंक बनाएर नहुनेले लैजानुस हुनेले दान गर्नुस कार्यक्रम, मास्क बनाउने कार्यक्रम, रक्तदान गर्ने कार्यक्रम अनि गाउँघर र जग्गा भएका घरपरिवारहरुले धमाधम खेतीपाती, तरकारी खेती, पशुपालन जस्ता कार्यको शुरुवात एकदमै सकारात्मक काम हुन् । हामीमध्ये धेरैले अनुभव अनि महसुस गरेको कुरो हो कि आजकल हामीमा नकारात्मक भावनाहरुले डेरा गरी बसेका छन यति मनन गर्नसक्ने भएपछि अवश्य यसको न्यूनिकरणको लागि पहलकदमी पनि हामी आफैंले गर्नुपर्ने छ ।
सञ्जालमा पनि हामी बढी भन्दा बढी सामाजिक सौहार्दता, देखेका नभनी नहुने राज्यका पहरेदारहरुले गरेका गलत कार्यको विरोध, अहिलेको सन्दर्भमा बढी भन्दा बढी कोरोना जनचेतना र संयमित भएर यसको रोकथाम तथा व्यवस्थापनको विषयमा नै केन्द्रीत हुनुपर्ने देखिन्छ । परिवारमा जेष्ठ नागरिक,बालबालिका,रोगी सदस्यको हेरचाह र खानपान तथा सरसफाईमा ध्यान दिने । समाजमा काम नभएका, मजदूर दैनिक ज्यालादारी गर्ने समुदायको रेखदेख र काम गर्ने । अनि राज्यले स्वास्थ्य सेवा सुविधा लगायतको व्यवस्थित काम कारवाही भए केही न केही राम्रो सन्देश यो कोरोना कहरमा अवश्य जानेछ । सर्वसाधारणले पनि कोरोनाबारे सचेत हुनैपर्ने र सचेत नभएकालाई सचेतहरुले सम्झाउने बुझाउने गर्नैपर्ने देखिन्छ । युवाहरुको भूमिका धेरै नै भएकोले आफ्नो हेरविचार गरिकन अरु जिम्मेवारी पनि वहन गर्नुपर्ने भएकोले अझ सतर्क रहेर कोरोना रोकथाममा लाग्नुपर्ने हुन्छ ।
सातदोबाटो,ललितपुर