सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप

16

(काठमाडौँ) – सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने निर्णग गरिएको जनाएको हो ।

ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता कोषमा सूचीकरण हुन बाँकी रहेको भन्दै सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप गर्ने जनाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने भनेको थियो ।

कोषले सार्वजनिक सूचना प्रकाशन गरेको एक महिना भित्र सो योजनामा आवद्ध हुन सबै रोजगारदाता तथा योगदानकर्तालाई आग्रह गरेको छ । सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा दशैंका कारण लामो सार्वजनिक बिदा हुँदा रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गर्न लागिएको कोषका कार्यकारी निर्देशक कपिलमुनी ज्ञवालीले बताउनुभयो । सूचीकृत हुने समयबारे राष्ट्रिय दैनिकमा सुचना प्रकाशित गर्ने जानकारी कोषले दिएको छ ।

हालसम्म कोषमा सूचीकृत भएका रोजगारदाताको संख्या ८ हजार ८ सय १८ तथा योगदानकर्ताको संख्या १ लाख ९ सय ६८ पुगेको छ । जसबाट ७ करोड ६५ लाख रुपैयाँ भन्दा बढी योगदान रकम संकलन भइसकेको कोषले जनाएको छ ।

समाचार वर्गहरू