पोखरा – सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनमाथि सरकारले लगाएको कर फिर्ता गर्न माग गरेको छ । महासंघको गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वनमा तेहेरो कर लगाएको आरोप लगाउँदै उक्त कर फिर्ता गर्न माग गरेकी हुन् ।
सामुदायिक वन समूहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरी ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको पाठकले बताइन् । वन र वातावरण संरक्षणमा सामुदायिक वन समूहले गरेको योगदानका कारण नेपाल विश्वसामु ‘सामुदायिक वनको देश’का रूपमा परिचित हुन सफल भएको बताउँदै उनले एकद्वार प्रणालीबाट कर लिन सरकारसँग माग गरिन् ।
सरकार र वन कर्माचारीबाट वनमाथि पटक–पटक आक्रमण भएको बताउँदै अध्यक्ष पाठकले तीनै तहका सरकारले लगाएको तेहेरो करका विरुद्धमा सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिइन् ।
कानूनी अवरोधका कारण उपभोक्ताले संरक्षण गरेको वनबाट पानी, दाउरा, जडीबुटी, काठ जस्ता वनपैदावार निकासीमा अप्ठेरोपरेको कारण उपयोग गर्न नपाएका कारण नष्ट भएर खेर जाने गरेको उनको भनाइ छ । उपभोक्ताले संरक्षण गरेको वनमा वैज्ञानिक वन व्यवस्थापन नीति लागू गरेर जथाभावी फडानी गरेको आरोप लगाउँदै उनले उक्त व्यवस्था खारेज गरी दिगो वन व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
रासस