काठमाडौं – संसदीय समितिले समाज कल्याण परिषदलाई स्थापना कालदेखि हालसम्म विभिन्न गैरसरकारी संस्था मार्फत सञ्चालन भएका परियोजनाका लागि स्वीकृत रकमको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको सिंहदरबारमा आज बसेको बैठकले परिषदलाई सालगत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
समितिले ५० हजार गैरसरकारी संस्था दर्ता भएको र नियमानुसार नवीकरण नहुने देखिएका लगायत विषयमा समाज कल्याण परिषद्लाई आफ्नो अवस्था, दूरदृष्टि र देशको आवश्यकता समीक्षा गर्न निर्देशन दिएको छ ।
गैरसरकारी संस्थाका कार्यक्रम सबै तहमा कार्यान्वयन हुने तर परिषद्को उपस्थिति केन्द्रीय तहमा मात्र रहनाले परिषद्ले गर्ने समन्वय प्रभावकारी नहुने निश्चित भएको र कतिपय संघसंस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर मात्रै पनि सञ्चालनमा छन् ।
परिषदका उपाध्यक्ष पद्म प्रसाद खतिवडासँगको छलफलपछि आगामी प्रतिवेदनहरुमा संस्थाको समग्र भौत्तिक तथा वित्तीय उपलब्धीहरु, चुनौतीहरु, समस्या न्यूनिकरणका लागि गरिएका प्रयासहरु एवं भावी कदमहरु जस्ता विषय समेट्न आग्रह गरेको समिति सभापति निरुदेवी पालले जानकारी दिईन ।