सिँगौरी खेल्न दिएकै छु, उदारतालाई कमजोरी नठान्नू – प्रचण्ड

135

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरक विचारप्रति आफू सधैँ उदार रहेको बताएका छन्।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘साथीहरू भन्नुहुन्छ म अलि बढी विचारलाई असहिष्णु भएँ कि ! म भन्छु भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन, भिन्न मतप्रति अलि बढी उदार हुने मेरो कमजोरी हो। मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो।’

हिजो उपमहासचिव शर्माले एक कार्यक्रममा बोल्दै माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको बताएका थिए । उनले पार्टीमा निरङ्कूशता र व्यक्तिवादी हाबी भएको दाबी गरेका थिए ।

प्रचण्डको जवाफ थियो, ‘धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्, प्रचण्डबाहेक, म यसो सोध्छु राति सुत्ने बेला सोच्छु, एकमनले सोच्छु अब छाड्दिऊँ कि के हो बेकार, भन्या जस्तो लाग्छ । फेरि एक मनले विचार गर्‍यो मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि भन्ने डर लाग्छ ।’

विगतमा मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा बादल वा अन्य कसैलाई पनि आफूले पार्टीबाट ननिकालेको स्पष्ट पार्दै प्रचण्डले थपे, ‘तर कतिपय साथीहरूलाई ननिकाले पनि बस्ने ठाउँ नै नदिएपछि के गर्ने भन्ने लाग्दो होला ! त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु।’

उनले भिन्न मतलाई दमन गर्ने आफ्नो कमजोरी नभएको भन्दै उदार हुनु कमजोरी भएको बताए ।

‘मलाई पार्टीभित्र बढी आलोचना हुने विषय पनि त्यही हो । मैले कसैलाई कारबाही गरिनँ, बाबुराम, किरण, बादल अरू थुप्रै मैले कसैलाई पार्टीबाट निकालेको छैन । तर, कतिपयलाई ननिकाले पनि के गर्ने बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ, त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलका वातावरण दिने गरेको छु’ दाहालले भने, ‘अहिले केही केही साथीले सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ, मैले प्रशस्त सिँगौरी खेल्न दिएको छु । कति सिँगौरी खेल्न मन छ खेल्नुस्, अस्ति डेढ महिना परामर्श बैठक भन्दै सँगै लिएर हिँडे । त्यो भन्दा बढी के हो जनवाद ?’

समाचार वर्गहरू