सिंगापुर विकास मोडलबारे काँग्रेस केन्द्रीय कार्यालयमा छलफल

46

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल तथा विचार–विमर्श गरिएको छ।

काँग्रेसको नियमित नीतिगत तथा वैचारिक छलफल कार्यक्रम ‘ग्रीन टेवल’ अन्तर्गत आयोजित कार्यक्रममा सिंगापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक विद्वान लियोंग सी हियान प्रमुख वक्ताका रूपमा सहभागी थिए।

कार्यक्रममा हियानले सिङ्गापुरले आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका क्षेत्रमा हासिल गरेका सफल अभ्यासहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । उनले आर्थिक समृद्धि, प्रभावकारी शासन प्रणाली, संस्थागत विकास तथा नागरिक केन्द्रित नीतिनिर्माणका लागि सिङ्गापुरबाट नेपालले सिक्न सक्ने महत्वपूर्ण पाठहरूबारे विचार राखेको “नेपाली कांग्रेस निर्वाचन व्यूरो”का सदस्य सुदर्शन आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार हियानले सिंगापुर आर्थिक रूपमा समृद्ध भएपनि केही सामाजिक सूचकहरूमा अझै चुनौतीहरू रहेको उल्लेख गर्दै विकासको अन्तिम उद्देश्य नागरिकलाई खुसी बनाउनु हुनुपर्नेमा जोड दिए। उनले भ्रष्टाचारविरुद्धका कानुनको कडाइका साथ कार्यान्वयन, मेरिट प्रणालीको अवलम्बन, नवप्रवर्तनलाई प्रोत्साहन तथा दीर्घकालीन नीतिगत स्थिरताका कारण सिंगापुरले छोटो अवधिमै उल्लेखनीय आर्थिक प्रगति हासिल गर्न सफल भएको बताए। नेपालको सन्दर्भमा सुझाव दिँदै उनले सुशासनका लागि कठोर र प्रतिबद्ध हुनुपर्ने, साथै कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि र नवप्रवर्तनमा केन्द्रित नीति अवलम्बन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा युवा र अध्ययनशील व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेपालको वर्तमान अवस्था र विकासका चुनौतीसँग सम्बन्धित विभिन्न प्रश्नहरू राखेका थिए। हिएनले ती प्रश्नहरूको उत्तर नेपालकै सन्दर्भमा केन्द्रित भएर दिएका थिए।

कार्यक्रममा सभापति थापाले हियानलाई नेपाली ढाका टोपी, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । हियानको प्रस्तुति र अन्तरक्रियापछि सभापति थापाले सुशासन नै समुन्नतिको प्रमुख आधार भएको उल्लेख गर्दै सिंगापुरको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए। उनले सिंगापुरका बारेमा विगतदेखि धेरै सुन्दै आएको भएपनि त्यहाँका विद्वानसँग प्रत्यक्ष संवादबाट थप उपयोगी जानकारी प्राप्त भएको उल्लेख गरे।

सभापति थापाले वर्तमान सरकारको प्रमुख प्राथमिकता पनि सुशासन रहेको बताइँदै आएको स्मरण गराउँदै सुशासनको अभियानमा काँग्रेस सहयोग गर्न तयार रहेको स्पष्ट पारे। तर सुशासनका लागि सरकारमा रहेका व्यक्तिहरूको व्यवहार र प्रतिबद्धतासमेत देखिनुपर्ने उनको भनाइ थियो।

सरकारले गठन गरेको छानबिन समितिलाई काँग्रेसले सहयोग गर्ने उल्लेख गर्दै उनले समितिको काम निष्पक्ष र विश्वसनीय हुनुपर्ने धारणा राखे। सिंगापुरमा शीर्ष नेतृत्व र राजनीतिक दलहरूले नै सुशासनको मानक स्थापित गरेकाले त्यहाँ सुशासनको वातावरण निर्माण भएको उदाहरण प्रस्तुत गर्दै थापाले नेपालमा पनि राज्य सञ्चालन गर्ने नेता र राजनीतिक दलहरू नै सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। “मूल नै फोहोर भए जरा सफा हुँदैन। त्यसैले सुशासनका लागि राज्यको मूल मानिने शीर्ष नेता र राजनीतिक दलहरू नै सफा हुनुपर्छ,” सभापति थापाले भने।

काँग्रेसको ग्रिन टेवल छलफल श्रीङ्खलामा शुक्रबार पनि छलफल हुने भएको छ । शुक्रबार दिउसो ४ बजेपछि हुने कार्यक्रममा मानवअधिकार आयोगको प्रतिवेदनका सम्वन्धमा विज्ञ तथा सरोकारवालाहरुसँग छलफल हुन लागेको ग्रिन टेवलका संयोजक कञ्चन झाले जानकारी दिए ।

पार्टी कार्यालयमा भइरहेका यस्ता नीतिगत र वैचारिक चिन्तन मननका कार्यक्रमहरुले पार्टीका नेता तथा कार्यकर्ताहरुको बुझाईलाई धेरै फराकिलो र गहकिलो बनाएकाले उनको भनाई छ ।

समाचार वर्गहरू