काठमाडौं – सिधा कुरा नामक युट्युब च्यानल लगायतविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतमा आइतबार अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
सिधा कुरा डटकम अनलाइनका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गानालगायत उक्त कार्यमा संलग्न सबैलाई अदालतको अवहेलनामा हदैसम्म सजाय गर्न माग गर्दै मुद्दा दर्ता भएको हो ।
सामाजिक सञ्जालबाट शृङ्खलाबद्ध रूपमा अपलोड गरी प्रसारित चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्ट्रिङ्ग अपरेसनसमेतका शीर्षक राखी प्रसारित सामग्री कपोलकल्पित भ्रामक तथा नियोजित भएको दाबी गरिएको छ ।
‘सामाग्रीले नेपालको संविधानको धारा १२८ ( ४ ), न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ (३) बमोजिम प्रस्तुत प्रतिवेदन पेश गरेको छ,’ निवेदनमा भनिएको छ ।
प्रसारित सामाग्री युट्युबलगायतका सामाजिक सञ्जालबाट तत्काल हटाउन तथा सामाग्री तयार गर्ने तथा प्रसारण गर्ने व्यक्तिलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ । उक्त मुद्दाको पेशी सोमबारलाई तोकिएको छ ।