सिन्धुपाल्चोकका पहिरो पिडित सँग सभामुख सापकोटा

21
तस्विर -सामाजिक संजाल

काठमाण्डौं – संघिय संसदका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आइतबार सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातीको भीषण पहिरोले ठूलो मानवीय एवम् भौतिक क्षति गराएको स्थलगत अवलोकन गरेका छन् । उनले पहिरोले क्षति पुर्याएको स्थानहरुको स्थलगतरुपमा जानकारी लिंदै स्थानिय पहिरो पीडितरप्रभावितहरुसँग छलफल गरेका छन् ।

सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्तिहरु बढिरहेको उल्लेख गर्दै जोखिमयुक्त सूचिकृत नभएका बस्तीहरुमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताए । सभामुख सापकोटाले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने जानकारी दिंदै स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताए। उनले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञहरुसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यबस्था गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । सभामुुख सापकोटाले पहिरो पीडितरप्रभावितहरुको सुरक्षित बसोबासका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने बताए ।

सभामुख सापकोटाले आजै बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसे देखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन गरेका छन् । सो अवसरमा उनले अरनिको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले पहल गर्ने बताए।

यसैबीच सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना सहित पहिरोमा परि ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ । आज साँझ सम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता रहेका छन् । पहिरोका कारण भीरखर्कका ४, नाकपुजेका ११ र नेवार टोलका ७ गरी २२ घर पूर्णरुपमा क्षति भएको छ । १७ घर जोखिममा रहेका छन् ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेको २०७७ भदौ २८को प्रेस नोटमा आधारित ।

समाचार वर्गहरू