काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नरपालिका-९ ज्यामिरेमा बोम्बो (झाँक्री) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोमबार मेलम्ची नगरपालिका वडा नं ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङको नेतृत्वको टोली, झाँक्री मनोत्रा तामाङको नेतृत्वको टोली, छिमेकी पालिका र नगर भित्रका विभिन्न वडाबाट र स्थानीय स्थानीय झाँक्रीहरूले प्रदर्शन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफू परम्परा,संस्कृति र मूल्य मान्यता अनुसार झाँकी भएको बताए । उनले नेपाली संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिल्लेर पछ्याउने विकृतिबाट मुक्त पार्न सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुले आ(आफ्नो रीतिरिवाजमा जागरण पैदा गर्नुपर्नेमा जोड दिएका थिए।
‘नेपालमा अनेक जाति र तिनका भाषा, वेश र परम्परा छन्। ती सबैका साझा विशेषता सँगै बाँचौँ र हाँसौँ भन्ने हो ।’झाँक्रीकै भेषमा सजिएका नगर प्रमुख तामाङले भने ‘विविधता बिचको एकता नेपाली संस्कृतिको मूल विशेषता भएकोले नेपाली संस्कृति लोप हुनबाट जोगान सबै सजग र सचेत रहदै संरक्षण गर्नुपर्छ ।’
मेलम्ची नगरपालिका वडा नं ९ का वडा अध्यक्ष किरणदीप खड्काले नेपाली संस्कृतिको जग शिष्ट, सभ्य र सुसंस्कृत आचरण तथा परम्परामा आधारित भएकोले पुस्तान्तरण सँगै अनुकरण गर्न आग्रह गरे ।
आफ्नो कला धर्म र संस्कृतिको संरक्षण गर्न आफैं अग्रसर हुनुपर्ने सातधारा दुप्चेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिका अध्यक्ष कमलबहादुर खड्काले बताए ।
कार्यक्रममा लोक गायक सूर्यमणी आचार्य, पदम दुलाल, गायिका आशा लामा, सेलो गायक ओम तामाङ वाइवा, चन्द्रप्रसाद कोइरालाको खैजडी भजन टोलीले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो ।
माघी पर्वको अवसरमा बर्षैपिच्छे यो मन्दिरमा मेला लाग्ने गर्दछ । मेला भर्न मन्दिरबाट छिमेकमा पर्ने इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका भक्तजनहरुको समेत भिड लाग्ने गर्छ ।