सिन्धुपाल्चोकमा कोरोना विरुद्धको अभियानमा कांग्रेस सक्रिय

57

(सिन्धुपाल्चोक)  –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न पार्टी संगठनलाई गाउँगाउँमा परिचालन गरेको छ । सिन्धुपाल्चोक कांग्रेसले आफ्ना मातहतका सबै कमिटीलाई  योजनाबद्ध रुपमा कार्यक्षेत्रमा खटाएको हो ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाको पहलमा  जिल्ला कमिटी सदस्य र सबै भ्रातृ संगठनका प्रमुखहरुसँग भिडियो कन्फेरेन्समार्फत् केहि दिन अघि बैठक बसेको थियो । सो बैठकमा प्राप्त सुझाव सल्लाह अनुसार महामारीको दुःखद समयमा जनतासँग मिलेर काम गर्न जिल्ला पार्टीले सबैलाई काममा खटाएको सभापति लामाले जानकारी दिए ।

जिल्ला सभापति लामा इन्द्रावती गाउँपालिकाको नवलपुर क्षेत्रमा रहेर कार्यकर्तालाई परिचालन गरिरहेका छन् । ‘हाम्रो पार्टीले अलपत्र परेका जिल्लावासीलाई घर ल्याउने काम गरेको छ । हामीले अन्यत्र रहेकालाई खानबस्नको प्रवन्धसमेत गरेका छौं,’ उनले भने, ‘सिन्धुवासी जुन जिल्लामा भएपनि त्यहाँको पार्टी कमिटीसँग समन्वय गरेर उनीहरुको समस्या समाधान गरिएको छ ।’ हुम्ला, जुम्ला, जाजरकोटलगायत जिल्लामा डोजर चलाउने, भाँडा ब्यापार गर्ने लगायत रोजगारीको सिलसिलामा विभिन्न काममा रहेर अलपत्र परेका सिन्धुवासीलाई जिल्ला फर्काउन सहयोग गरेको उनले बताए ।

त्यसैगरी नेपाली कांग्रेसले जिल्लाभर जनचेतना जगाउने, कोरोना कहरसँग जुध्न विभिन्न उपाय सिकाउने काम गरेको छ । सभापति लामाले दिएको जानकारीअनुसार जिल्लाभर रहेका सबै कमिटीलाई सामाजिक दूरी कायम गर्दै जनताको दुःखमा काम गर्न परिचालन गरिएको छ । कांग्रेसले जिल्लाका विभिन्न स्थानमा पार्टी कमिटीका नेताकार्यकर्तालाई परिचालन गरेर स्थानीय तहले गरिरहेको कामको स्थितिलाई नियालिरहेको छ ।

त्यसैगरी नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतले दिएको जानकारीअनुसार बाह्रबिसे केन्द्रबिन्दु बनाएर कांग्रेसले थुप्रै काम गरेको छ । सबैभन्दा पहिला राज्यले नै उपलब्ध गराउन नसकेको पीपीइ सेट, थर्मल गनलगायत कोरोना भाइरसबाट सुरक्षित रहन आवश्यक स्वास्थ्य सामग्री पार्टी केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्ला भित्र्याएका थिए ।

केन्द्रीय सदस्यले गरेको काममा क्षेत्रीय कमिटी परिचालित भएको बस्नेतले बताए । ‘बाह्रबिसे नगरले पूर्वतयारीका लागि काम नथाल्दै हामी जनताको बस्तीबस्तीमा पुगेर सानिटाइजर, मास्क, साबुन वितरण गरेर जनचेतना जगाउने काममा क्रियाशील भयौं,’ बस्नेतले भने, ‘हाम्रो पार्टी कोरोना भाइरसविरुद्ध संघर्ष गर्न फ्रन्ट लाइनमै छ र सँधै रहिरहन्छ ।’

क्षेत्र नं. १ मा स्वास्थ्य सामग्री र अतिविपन्न अवस्थामा रहेका ५१ मजदूरलाई राहत वितरण गर्दा नेकपा सरकारले विभिन्न आरोपमा लखेट्न खोजेको प्रति दुःख लागेको उनले बताए । ‘मानवीयताको आधारमा अत्यावश्यक काम गर्दा सरकारी पक्षले त्यसो गर्न नहुने थियो,’ उनले भने । स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी र एम्बुलेन्स चालकलाई पीपीइ सेट प्रदान गरेको उनले जनाए । कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनलाई सबैले पालना गर्नुपर्नेमा उनले जोड दिए । ‘जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छैन यो सुखद पक्ष हो,’ उनले भने, ‘कोरोनासँग जुध्न हाम्रो पार्टी तयार छ । कम्तीमा १५ वटा गाडी स्ट्याण्डबाइ राखेका छौं ।’

सिन्धुपाल्चोक कांग्रेस ले यसघिनै सामाजिक संजालमार्फत जिल्ला कार्यसमितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संगठनका प्रमुखहरुको सम्पर्क नम्बर सार्वजनिक गर्दै जहाँ जस्तोसुकै समस्या परेपनी सम्पर्कमा आउन आव्हान गरिसकेको थियो ।

 

समाचार वर्गहरू