सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
घटनास्थलमै ५ र उपचारका लागि अस्पताल लैजाने क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, उपचारका क्रममा धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ की हिरा श्रेष्ठ, विनोद लम्साल, इद्रावती १० का रितेश आचार्य छन् ।
त्यसैगरी धुलिखेलमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कुतीको मृत्यु भएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।
प्रहरीका अनुसार बस भित्र र छतमा पनि यात्रुहरु खचाखच थिए । दुर्घटनामा सख्त घाइते ७० जनाभन्दा बढीको स्थानीय, प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरुले उद्धार गरी विभिन्न अस्पताल पठाएका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट १३ र एक निजी हेलिकप्टरबाट १० जना घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ। थप उपचारका लागि काठमाडौं ल्याइएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको सेनाले जनाएको छ । बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको बस करीब १० बजे ब्रेक फेल भएर तल खसेको थियो ।