काठमाडौं – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सिंहको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा निधन भएको हो ।
मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकोप्टरमा कोहलपुर ल्याइएको थियो । सिंहसँगै कोहलपुर ल्याइएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको अस्पतालले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले मंगलबार साँझ प्रेस विज्ञप्ति निकालेर ५ बजेर ३३ मिनेटमा निधन भएको जनाएको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा मंगलबार दिउँसो केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।
मन्त्री सिंह बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।