(धनगढी) – कैलालीको अत्तरियामा बिहीबारबाट सुरु हुने दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पीएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा आजबाट यही फागुन २८ गतेसम्म हुने राजधानी कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको हो ।
मालिका खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा मा विभिन्न ११ टिमको सहभागीता रहेका छ । प्रतियोगिताको उद्घाटन खेलमा फारवेष्ट पशुपति युवा क्लब र मनकामना युवा क्लब भिड्ने भएका छन् । प्रतियोगितामा उद्घाटन र समापन वाहेका दिन दैनिक दुई खेल सञ्चालन हुनेछ ।
प्रतियोगितामा आयोजक पीएफए अत्तरियासँगै मनकामना युवा क्लब, फारवेष्ट पशुपति युवा क्लब, नवदुर्गा युवा क्लब, वनदेवी युवा क्लब, नेपालगञ्ज स्पोर्टस ११, माउण्ट एभरेष्ट युवा क्लब, मसुरीया फुटबल एकेडेमी, स्टार सिटी क्लब, उक्सेन युवा क्लब दाङ र घोडाघोडी युवा क्लबले सहभागीता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई १५/१५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता आयोजनाका लागि सामाजिक विकास मन्त्रालय, गोदावरी नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, रिलायन्स लाईफ ईन्सोरेन्स, जनरल ईन्सोरेन्स कम्पनी, भागेश्वर ग्रुप, कैलाली जिल्ला खेलकुद विकास समिति, कैलाली जिल्ला फुटवल संघ, अखिल नेपाल फुटवल संघ, पदमा अस्पताल, ग्रिन गोदावरी रिसोर्ट, होटल नमस्ते, वेष्टर्न प्लाजाले सहयोग गरेका छन् ।