(काठमाडौं) – सरकारले विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुलमा वृद्धि गरेको छ । भन्सार विभागले चालू आर्थिक वर्षमै दोस्रोपटक भन्सार दर बढाइएको हो । विभागले बैंकसँगै अब विदेशबाट फर्केका यात्रुले ल्याउने सुनचाँदी र गहनामा लाग्ने भन्सार दर समेत बढाएको हो ।
भन्सार विभागको अनुसार विदेशबाट ल्याइने काँचो सुनको ५० ग्रामसम्म प्रति १० ग्रामको हिसाबले ७ हजार ५ सय रुपैयाँ भन्सार शुल्क तिनुपर्छ । ५० ग्राम भन्दा बढी अर्थात १ सय ग्रामसम्म सुन ल्याँउदा ५० ग्राम भन्दा बाहेकको सुनमा भने प्रति १० ग्रामको दरले ८ हजार ५ सय रुपैयाँ तिनुपर्छ ।
विदेशबाट फर्कने नेपालीले ५० ग्रामसम्म सुनका गहना महसुल नतिरी ल्याउन सक्नेछन् । तोकिएको परिमाण भन्दा बढी सुन र सुनका गहना बोकेर आएमा जफत हुने सरकारले विभागले जनाएको छ । नेपालबाट अवैध रुपमा सुन भारतर्फ जान थालेपछि भन्सार महसुल बढाउनु परेको अर्थ मन्त्रालयले बताएको छ । सरकारले व्यापारिक प्रयोजनमा भित्रने सुनको भन्सार महसुल समेत बढाएको छ ।
विभागका अनुसार यस्तो सुनमा प्रतितोला १५ सयका दरले भन्सार महसुल बढाइएको हो । पहिले ५ हजार प्रतितोला रहेको भन्सार महसुल अब ६५ सय रुपैयाँ पुगेको छ । चाँदीमा भने यसअघि प्रतितोला ५६ रुपैयाँ रहेकोमा अब बढेर ७५ रुपैयाँ प्रतितोला भन्सार महसुल लाग्ने भएको छ ।
त्यसैगरी यात्रुले ल्याउने टेलिभिजनमा मूल्य अभिवृद्धि कर, भन्सार महसुल, अन्तःशुल्क करको साटो एकमुष्ठ ५५ प्रतिशत भन्सार महशुल असुल गरिने विभागले जनाएको छ । बैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना अर्थात १ वर्ष काम गरी फर्कने यात्रुलाई भने ३२ इन्चसम्मको टेलिभिजनमा सम्पूर्ण कर छुट दिइने छ ।