सुन तस्करको बालुवाटार गोदाममा भेटियो सुन गाल्ने मेसिन

4

काठमाडौं – राजस्व अनुसन्धान विभागको टोलीले सुन तस्कर गिरोहको काठमाडौंस्थित गोदामबाट सुन गाल्ने मेसिन नै बरामद गरेको छ ।

विभागको टोलीले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा मेसिन भेटेको हो ।

‘हो, सुन गाल्ने मेसिन बरामद भएको छ । अनुसन्धान जारी रहेकाले अहिले योभन्दा धेरै केही भन्न सकिन्न,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले भने ।

मेसिन नै बरामद हुनुले यसअघि पनि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ । उनीहरूले तस्करी गरेर ल्याएको सुन गालेर नेपाल र भारतीय बजारमा पुर्‍याउने गरेको अनुमान गर्न सकिने विभाग स्रोतको भनाइ छ ।

हालसम्मको अनुसन्धानमा चिनियाँ नागरिक लिन पनि गिरोहका नाइकेमध्येका एक रहेको खुलेको स्रोतको भनाइ छ । उनले महाराजगन्जमा कार्यालय रहेको ल्यान्ड एन्ड ओसियन इन्टरनेसनल लजिस्टिक प्रालि नामको कम्पनी पनि चलाएका थिए ।

चिनियाँ नागरिक लिनलाई बालुवाटारमा गोदाम मिलाइदिने नरेश तामाङलाई पनि राजस्वको टोलीले बुधबार पक्राउ गरेको छ । उनीबाट पनि यो गिरोहबारे थप सूचना प्राप्त हुने सम्भावना रहेको विभागका अधिकारी बताउँछन् ।

सय किलो सुन प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् । गिरोहले भन्सारका कर्मचारीसम्म सेटिङ मिलाएर तस्करी गरेको प्रारम्भिक निष्कर्ष छ । जाँचपासमा संलग्न तीनजना भन्सार कर्मचारी पनि विभागको थुनामा छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू