(सिन्धुपाल्चोक) – मेलम्ची खानेपानी आयोजना अन्तर्गत सञ्चालित सामाजिक उत्थान कार्यक्रम (सुप) को बजेट आगामी आर्थिक वर्षदेखि सम्बन्धीत पालिकामा पठाउन अनुरोध गरिएको छ ।
आज मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, र्ईन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको उपस्थितिमा भएको बैठकले खानेपानी मन्त्रालयमा सामाजिक उत्थानको वजेट सम्बन्धीत पालिकाको खातामा हाल्न अनुरोध गर्ने निर्णय भएको इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए ।
यसअघि समिति मार्फत वजेट आउँदा विकास निर्माणका काम गर्न सहज नभएको जनप्रतिनिधिहरुले बताएका छन् । सिन्धुपाल्चोकमा ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम समिति र याङरी लार्के सरोकार समिति,मेलम्ची ईन्द्रावती उत्थान समिति मार्फत साविकको २४ गाविसमा विकास निर्माणका काम हुने गरेका थिए । देश संघियतामा गएसँगै संघीय संरचनामा वजेट खर्च गर्न पाउनुपर्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।