सुवासकाे नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं – ओली

35

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन्।

बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सुवासचन्द्र नेम्वाङकाे स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए।

उनले भने ‘सुवासचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शलाई पछ्याएर केही कामहरू गरिरहनका लागि हामी एउटा सुवासचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौँ भन्ने घोषणा गर्न चाहन्छु। ’

उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे।  प्रतिष्ठान बनायो छोड्यो गर्ने नभई नेताहरूका नामका प्रतिष्ठान नेताहरूको आदर्श, नेताहरूको विचार, नेताहरूले हिँडेको बाटो, नेताहरूको व्यवहार, आचरण, नेताहरूको गतिशील इच्छा, आकाङ्क्षा र प्रवृत्ति अनुरूप चल्नुपर्ने ओलीको भनाइ थियो।

दोस्रो संविधान सभा असफल हुन नदिन र संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधान सभाको अध्यक्षता गर्नुभएको कुरा सधै देशको सम्झना भइरहने बताए ।

उनले भने –” नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ नै, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।”

अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गरे । उनले नेपालको परिवर्तनमा योगदान गर्नुभएका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उनीहरूले अँगालेको बाटो, व्यवहार र आचरण अनुरुप चलाउनुपर्ने विचार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेम्वाङले देखाउनुभएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

समाचार वर्गहरू