काठमाडौं । नेकपा एमालेले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपा पहिलो पार्टी हुनुमा विभिन्न क्षेत्रमाथि दोष लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मलाई दोष लगाएका हुन्। ‘यो सबै परिणामका पछाडि मुख्यतस् नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन्,’ उनले भने ।
थापाले थप आक्रोशित हुँदै सरकारलाई चेतावनी दिएका छन् । उनले टीओबी, एआई, एल्गोरिदमलगायतको बलमा आफ्ना अध्यक्षलाई हत्याराको रूपमा स्थापित गरी देश जलाइएको भन्दै असन्तुष्टि प्रकट गरे । ओलीलाई समृद्धिका नायक भएको दाबी गर्दै थापाले आफ्नो पहिचान मेटाउने खलपत्रलाई महानायक बनाएको टिप्पणी गरेका हुन् ।
थापाको सम्बोधन सरकारकेन्द्रित थियो । उनले प्रस्तुत गरेका हाउभाउ, प्रयोग गरेका शब्दले आक्रोशित भाव देखिएको थियो । थापाको उही स्वभावले नै अब संसदमा एमाले थप आक्रामक हुने बुझिएको छ ।
एमाले अध्यक्ष ओलीलाई सरकारले पक्राउ गरेको छ । २३ भदौको आन्दोलनमा प्रदर्शनकारीले ज्यान गएपछि उनी र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जेन–जी घटनासम्बन्धी छानबिन आयोगले दोषी किटान गरेको छ । सोही आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा सरकारले ओली र लेखकलाई पक्राउ गरेको हो ।